ट्रम्प प्रशासनका नीतिविरुद्ध अमेरिकाभर विशाल प्रदर्शनः ३ हजारभन्दा बढी स्थानमा लाखौं सडकमा

काठमाडौं, १५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रशासनका नीतिविरुद्ध अमेरिकाभर विशाल प्रदर्शन भएको छ। अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म ३ हजारभन्दा बढी स्थानमा लाखौं नागरिक सडकमा उत्रिएका छन्।

‘नो किङ्ग्स’ (No Kings) अर्थात् ‘यहाँ कोही राजा छैनन्’ नाम दिइएको यस राष्ट्रव्यापी विरोध प्रदर्शन शनिबार तेस्रो संस्करणका रूपमा आयोजना गरिएको हो। यसअघि पनि लाखौं मानिसहरूले सडकमा उत्रिएर ट्रम्पका नीतिहरूप्रति असन्तुष्टि जनाएका थिए। अमेरिकामा मात्र नभई युरोपका विभिन्न सहरमा रहेका अमेरिकी नागरिकहरूले समेत ट्रम्प प्रशासनविरुद्ध ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूको मुख्य निशानामा ट्रम्प प्रशासनले अघि सारेका विवादास्पद नीतिहरू परेका छन्। उनीहरूले विशेषगरी कडा संघीय अध्यागमन नीति, इरानसँग हुन सक्ने सम्भावित युद्धको जोखिम र देशमा चुलिँदै गएको महँगीको तीव्र विरोध गरेका छन्।

“ट्रम्प हामीमाथि एक निरंकुश शासकको रूपमा शासन गर्न चाहन्छन्,” आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “तर यो अमेरिका हो र यहाँको सम्पूर्ण शक्ति जनताको हातमा छ। कुनै राजा बन्न खोज्ने व्यक्ति वा तिनका अर्बपति आसेपासेहरूको हातमा देश सुम्पिन सकिँदैन।”

देशभर भएका हजारौं र्‍यालीहरूमध्ये मिनेसोटा राज्य प्रदर्शनको प्रमुख केन्द्रविन्दु बनेको छ। मिनेसोटाको सेन्ट पलमा ट्रम्पको अध्यागमन नीतिको कडा विरोध गर्दै विशाल र्‍याली आयोजना गरिएको थियो, जहाँ हजारौं नागरिकले आप्रवासीको अधिकार र लोकतन्त्रको पक्षमा नाराबाजी गरेका थिए।