अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेद्वारा आज देशभरका जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं, १५ चैत्र । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा नेकपा (एमाले) ले आज देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै छ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई आधार बनाएर प्रहरीले हिजो (बिहीबार) अध्यक्ष ओलीलाई उनकै निवासबाट पक्राउ गरेपछि एमाले आन्दोलित भएको हो। ओली पक्राउ परेलगत्तै बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले पक्राउको कडा विरोध गर्दै निसर्त रिहाइको मागसहित देशभरका प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो।

एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार, काठमाडौंको हकमा आज नेता–कार्यकर्ताहरू माइतीघर मण्डलामा भेला हुने र त्यहाँबाट नारा–जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाउने तयारी छ।

अध्यक्ष ओलीको पक्राउको विरोधमा हिजो पनि एमालेसम्बद्ध विभिन्न जनसंगठनहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए।

यसैबीच, अध्यक्ष ओलीको पक्राउको कानुनी र राजनीतिक आयामबारे छलफल गर्न आज कानुनविद्हरूसँग अन्तरसंवाद कार्यक्रम पनि राखिएको छ।

प्रेस चौतारी नेपालले दिएको जानकारीअनुसार, बिहान १०:३० बजे पुतलीसडकस्थित चौतारीको केन्द्रीय कार्यालयमा कानुनविद्हरूसँग छलफल तथा अन्तरसंवाद कार्यक्रम आयोजना गर्न लागिएको हो। उक्त कार्यक्रममा ओलीको पक्राउविरुद्ध कानुनी उपचार खोज्ने विषयमा परामर्श हुने बताइएको छ।