साउदी एयरबेसमा इरानी मिसाइल आक्रमणः १५ अमेरिकी सैनिक घाइते, मध्यपूर्वमा अमेरिकाले बढायो सैन्य तैनाथी
एजेन्सी, १६ चैत्र । साउदी अरबस्थित ‘प्रिन्स सुल्तान एयरबेस’मा इरानले गरेको मिसाइल र ड्रोन आक्रमणमा परी कम्तीमा १५ जना अमेरिकी सैनिक घाइते भएका छन्। आक्रमण लगत्तै अमेरिकाले मध्यपूर्वमा थप सैन्य दस्ता र लडाकु विमान पठाएको छ।
साउदी अरबको राजधानी रियादबाट करिब ९६ किलोमिटर टाढा रहेको उक्त एयरबेसमा इरानले ६ वटा ब्यालेस्टिक मिसाइल र २९ वटा ड्रोन प्रहार गरेको थियो। यो एयरबेसलाई अमेरिकी सेनाले समेत प्रयोग गर्दै आएको छ र यस क्षेत्रमा तनाव सुरु भएदेखि नै यो बेस आक्रमणको तारो बन्दै आएको छ।
आक्रमणमा घाइते भएका १५ अमेरिकी सैनिकमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। अमेरिकी अधिकारीहरूका अनुसार हालसम्म यस क्षेत्रमा भएका विभिन्न आक्रमणमा परी ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते भइसकेका छन्। पछिल्ला घटनाहरूमा घाइते भएका अधिकांश सैनिक काममा फर्किसके पनि करिब ३० जना अझै उपचाररत छन्, जसमध्ये १० जनालाई गम्भीर घाइतेको सूचीमा राखिएको छ।
आफ्ना सैनिकमाथि आक्रमण भएपछि अमेरिकी सेनाले मध्यपूर्वमा सैन्य उपस्थिति बाक्लो बनाएको छ। क्षेत्रीय सुरक्षा र सम्भावित प्रत्याक्रमणको तयारीस्वरूप अमेरिकाले थप सैनिक, ‘स्ट्राइक फाइटर’ (लडाकु विमान) र अन्य अत्याधुनिक सैन्य उपकरणहरू त्यस क्षेत्रमा पठाएको छ।
अमेरिका र इजरायलले गरेका आक्रमणको जवाफ भन्दै इरानले पछिल्लो समय इजरायल र खाडीका अरब राष्ट्रहरूलाई लक्षित गर्दै निरन्तर प्रहार गरिरहेको छ। मध्यपूर्वमा भड्किएको यस युद्धका कारण विश्वव्यापी हवाई उड्डयन र तेल आपूर्ति शृङ्खलामा गम्भीर असर पर्न थालेको छ।
सुरक्षा मामिलाका विज्ञहरूका अनुसार इरानको यो कदम अमेरिकी सैनिकलाई हताहत बनाउनुमा मात्र सीमित छैन। यसको मुख्य रणनीतिक उद्देश्य विश्वव्यापी आपूर्तिलाई प्रभावित पारेर अमेरिका र उसका सहयोगी राष्ट्रहरूको आर्थिक स्थिरतामा गम्भीर धक्का पुर्याउनु रहेको उनीहरूको विश्लेषण छ।