चीनमा खराब मौसमको चेतावनीः भारी वर्षा र आँधीबेहरीको सम्भावना
एजेन्सी, १६ एजेन्सी । चीनको मौसम विज्ञान विभागले देशका दक्षिणी क्षेत्रहरूमा भारी वर्षा, आँधीबेहरी र बाक्लो कुहिरोसहितको खराब मौसमको चेतावनी जारी गरेको छ।
मौसम पूर्वानुमानअनुसार सोमबारदेखि मंगलबारसम्म चीनका विभिन्न भाग, विशेषगरी याङ्त्जे नदीको दक्षिणी क्षेत्रहरूमा असिनापानी र भीषण आँधीबेहरी आउने सम्भावना छ। हुनान, जियाङ्सी, गुइझोउ र गुआङडोङ प्रान्तका कतिपय स्थानमा तीव्र हावाहुरी चल्ने मौसमविद्हरूले बताएका छन्।
यसैगरी, दक्षिण चीनका गुआङ्सी, गुआङडोङ, दक्षिणी हुनान, दक्षिणी जियाङ्सी, पश्चिमी फुजियान, दक्षिणी चोङकिङ र उत्तरी गुइझोउलगायतका क्षेत्रमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।
अर्कोतर्फ, सोमबार बिहानैदेखि लागेको बाक्लो कुहिरोका कारण मध्य हुनान, उत्तर–मध्य जियाङ्सी, पूर्वी चीनको दक्षिणी झेजियाङ, उत्तर–मध्य फुजियान र उत्तरी गुआङ्सीको जनजीवन प्रभावित भएको छ। ती क्षेत्रका कतिपय स्थानमा दृश्यता (भिजिबिलिटी) २०० मिटरभन्दा कममा झरेको विभागले जनाएको छ।
खराब मौसमका कारण सडक र हवाई यातायातका साथै कृषि क्षेत्रमा गम्भीर असर पर्न सक्ने भन्दै अधिकारीहरूले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन्। साथै, भारी वर्षाका कारण आउन सक्ने आकस्मिक बाढी र पहिरोको जोखिमप्रति सतर्क रहन स्थानीय बासिन्दालाई सुझाव दिइएको छ।