नेता महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौं, १६ चैत । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले मागेको अनुमति काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको छ।

यसअघि नै तामेलीमा गइसकेको (अनुसन्धान स्थगन गरिएको) पुरानो मुद्दामा प्रहरीले पक्राउ पुर्जी मागेपछि अदालतले उक्त मिसिल (फाइल) फिर्ता पठाएको हो।

धादिङकी शोभा पाठकले जिल्ला प्रहरी परिसर (भद्रकाली) मा दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउन प्रहरीले बस्नेतविरुद्ध पक्राउ अनुमति माग्दै अदालतमा मिसिल पेस गरेको थियो। तर, अदालतले कानुनी आधार नपुगेको भन्दै प्रहरीको मागदाबीलाई अस्वीकार गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार, पक्राउ अनुमतिका लागि न्यायाधीश ध्रुव कार्कीको इजलासमा मिसिल पेस गरिएको थियो। इजलासले ‘एकपटक तामेलीमा राखिसकिएको मुद्दामा पुनः पक्राउ अनुमति दिन नमिल्ने’ भन्दै फाइल फिर्ता गरिदिएको स्रोतले जनाएको छ।

कुनै पनि मुद्दामा तत्काल प्रमाण नपुगेको अवस्थामा अनुसन्धान अधिकारीले पछि प्रमाण फेला परेका बखत अनुसन्धान गर्ने गरी फाइललाई ‘तामेली’मा राख्ने कानुनी व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *