रुसको अर्थतन्त्रमा युक्रेनको भीषण प्रहार: बाल्टिक सागरका प्रमुख तेल डिपोहरू ध्वस्त
एजेन्सी, १७ चैत । युक्रेनले रुसको आर्थिक मेरुदण्ड मानिने तेल निर्यात पूर्वाधारमाथि शृङ्खलाबद्ध र शक्तिशाली ड्रोन आक्रमण सुरु गरेको छ। बाल्टिक सागर नजिकैका प्रमुख रुसी तेल केन्द्रहरूलाई निशाना बनाइएपछि विगत एक हप्तादेखि रुसको तेल निर्यात प्रक्रिया नराम्ररी प्रभावित भएको छ।
स्याटेलाइट तस्बिर र प्रमाणित भिडियोहरूका अनुसार मार्च २३ देखि सेन्ट पिटर्सबर्ग नजिकैको लेनिनग्राद क्षेत्रमा रहेका तीनवटा ठुला तेल केन्द्रहरूमा भीषण हमला भएको छ। युक्रेनी सीमाबाट करिब ८०० किलोमिटर उत्तरमा रहेका उस्त-लुगा र प्रिमोरस्क बन्दरगाहका साथै किरिसी तेल रिफाइनरीमा यी आक्रमणहरू भएका हुन्।
फिनल्याण्डस्थित ‘सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एयर’ को तथ्याङ्क अनुसार सन् २०२५ मा रुसको कूल तेल निर्यातको २२ प्रतिशत हिस्सा प्रिमोरस्क र २० प्रतिशत उस्त-लुगा बन्दरगाहबाट हुने गरेको थियो। युक्रेनी आक्रमणको प्रभावका कारण मार्च २६ र २७ मा यी तीनवटै बन्दरगाहबाट एउटै पनि जहाजमा तेल लोड हुन सकेन।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता लगातार दुई दिनसम्म रुसी तेल निर्यात ठप्प भएको यो पहिलो पटक हो।
भेरिफाई गरिएको विश्लेषण र नासाको एफआइआरएमएस प्रविधिका अनुसार प्रिमोरस्क र उस्त-लुगामा रहेका कम्तीमा आठ–आठ वटा तेल भण्डारण ट्याङ्कहरू पूर्ण वा आंशिक रूपमा नष्ट भएका छन्। किरिसी रिफाइनरीमा पनि दुईवटा ठुला ट्याङ्कहरूमा व्यापक क्षति पुगेको छ। स्याटेलाइट तस्बिरहरूमा ती क्षेत्रबाट अझै पनि बाक्लो कालो धुवाँको मुस्लो निस्किएको देखिएको छ।
यद्यपि, लेनिनग्रादका गभर्नर अलेक्जेन्डर ड्रोज्देन्कोले आगो नियन्त्रणमा आएको र कुनै मानवीय क्षति नभएको दाबी गर्नुभएको छ। तर, भिडियो फुटेजहरूले भने रुसी दाबीविपरीत अझै पनि आगलागी र संरचनागत क्षति कायम रहेको सङ्केत गरेका छन्।
युक्रेनी सैन्य ड्रोन फोर्सका कमाण्डर रोबर्ट ब्रोभ्दीले यी तीनवटै रणनीतिक केन्द्रहरूमा विशेष सैन्य अपरेसन चलाइएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार रुसको तेल प्रशोधन क्षमता र कच्चा तेल निर्यात गर्ने पूर्वाधारलाई निशस्त्रीकरण गर्नु नै यस आक्रमणको मुख्य उद्देश्य हो।
युक्रेनी सेनाले किरिसी रिफाइनरीलाई मुख्य निशाना बनाउनुको कारण यो रुसका तीन ठुला प्रशोधन केन्द्रमध्ये एक हुनु र यसले रुसी आक्रमणकारी सेनालाई आवश्यक पर्ने इन्धन उत्पादन गर्नु रहेको बताएको छ। यस प्रहारबाट रुसले युद्धका लागि गर्ने खर्च र सैन्य परिचालन दुवैमा धक्का पुग्ने रक्षा विज्ञहरूको विश्लेषण छ।
