सुनको मूल्यमा भारी वृद्धि: एकैदिन तोलामा ७ हजार ४ सयले बढेर ३ लाख नजिक

काठमाडौँ, १८ चैत । नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर उकालो यात्रा तय गरेको छ। बुधबार सुनको मूल्य एकैदिन तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १०० रुपैयाँले महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदी (सेतो धातु) को मूल्य प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ।

पछिल्ला केही दिनयता बजारमा सुनचाँदीको मूल्यमा लगातार उतारचढाव आइरहेको छ। हिजो (मङ्गलबार) छापावाल सुन प्रतितोला २ लाख ९० हजार २ सय र चाँदी ४ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार सुन २ लाख ८३ हजार ५ सय र आइतबार २ लाख ८६ हजार रुपैयाँमा किनबेच भएको महासङ्घले जनाएको छ।

आन्तरिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उछाल आएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ७ सय ५ अमेरिकी डलर र चाँदी ७५ डलरमा कारोबार भइरहेको छ।