मध्यपूर्वमा चुलियो तनाव : सम्भावित युद्धको जोखिमसँगै अमेरिकाद्वारा हजारौँ सैनिक तैनाथ

एजेन्सी, १८ चैत्र । मध्यपूर्व क्षेत्रमा युद्धको सम्भावना बढ्दै गएपछि संयुक्त राज्य अमेरिकाले हजारौँको सङ्ख्यामा थप सैनिक पठाउन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानसँगको वार्तामा प्रगति भइरहेको दाबी गरे पनि सम्झौता हुन नसके युद्ध थप चर्किन सक्ने चेतावनी दिएको छ ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथका अनुसार, ठूलो युद्धपोत ‘युएसएस जर्ज एच. डब्लु. बुश’ सहितका विनाशकारी पानीजहाजहरू मध्यपूर्व पठाइएका छन् । उक्त नौसैनिक समूहमा छ हजारभन्दा बढी नौसैनिक रहेका छन् । यसैगरी, अमेरिकाको ‘८२औँ एयरबोर्न डिभिजन’ का हजारौँ सैनिक पनि उक्त क्षेत्रमा पुग्न थालेका छन्, जसमा हालै थपिएका करिब एक हजार पाँच सय प्याराट्रुपर (हवाइ सैनिक) समेत समावेश छन् ।

अमेरिकी प्रशासनले ती सैनिकहरूको वास्तविक भूमिका भने सार्वजनिक गरेको छैन । यद्यपि, ८२औँ एयरबोर्न डिभिजन जोखिमपूर्ण क्षेत्रमा हवाई मार्गबाट प्रवेश गरी महत्त्वपूर्ण स्थल र विमानस्थलहरू नियन्त्रणमा लिन विशेष प्रशिक्षित फौज मानिन्छ । यसअघि नै करिब दुई हजार पाँच सय जलसेना (मरीन सैनिक) बोकेको एउटा जहाज मध्यपूर्व पुगिसकेको छ भने थप दुई हजार पाँच सय मरीन सैनिक पठाउने तयारी भइरहेको जनाइएको छ ।

स्थल सेना परिचालन गर्ने वा नगर्ने भन्ने विषयमा रक्षामन्त्री हेगसेथले स्पष्ट पार्नुभएको छैन । “युद्ध जित्नका लागि आफ्नो रणनीति शत्रुलाई खुलाउनु हुँदैन,” उहाँले भन्नुभयो । यसअघि नै ठूलो सङ्ख्यामा अमेरिकी सेना तैनाथ रहेको उक्त क्षेत्रमा थप सैन्य उपस्थिति बढाइएपछि क्षेत्रीय दबाब र तनाव झनै चुलिएको छ ।

यसैबीच, विश्वकै सबैभन्दा ठूलो विमानवाहक जहाज ‘युएसएस जेराल्ड आर. फोर्ड’ मा आगलागी भएपछि त्यसलाई मर्मतका लागि फर्काइएको छ । जहाजमा क्षति पुगेपछि त्यहाँ रहेका सयौँ सैनिकको बसोबास प्रभावित भएको बताइएको छ । सैन्य अधिकारीहरूका अनुसार उक्त जहाजको तैनाथी अवधि अस्वाभाविक रूपमा लामो हुने सम्भावना छ, जसले नयाँ कीर्तिमान कायम गर्न सक्ने अनुमान गरिएको छ ।