सेयर बजारमा ७४ अङ्कको उच्च गिरावट, कारोबार रकम भने १२ अर्ब नाघ्यो

काठमाडौँ, १८ चैत । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार सात सय ७६ विन्दुमा सीमित भएको छ । आज बजार खुलेदेखि नै परिसूचक घट्दो प्रवृत्तिमार्फत अघि बढेको थियो ।

बजारमा उच्च अङ्कको गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा करिब रु एक अर्बले वृद्धि भएको छ । मङ्गलबार रु ११ अर्ब ११ करोड बराबरको सेयर किनबेच भएकोमा आज कारोबार रकम बढेर रु १२ अर्ब १० करोड पुगेको छ । आज कारोबारमा आएकामध्ये १३ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने दुई सय ५५ कम्पनीको मूल्य ओरालो लागेको छ ।

यसअघि आइतबार र सोमबार गरी दुई दिनमा एक सय १९ अङ्कले घटेको बजार मङ्गलबार १९ दशमलव ७ अङ्कले सम्हालिएको थियो । नेप्सेका अनुसार आज बजारका सबै उपसमूहका सूचकहरू घटेका छन् । जसमध्ये ‘अन्य’ उपसमूहको सूचक सबैभन्दा धेरै ५ दशमलव २६ प्रतिशतले ओरालो लागेको छ । नेपाल पुनर्बीमा कम्पनीको मूल्य उच्च दरले घटेपछि समग्रमा ‘अन्य’ उपसमूहको सूचक बढी प्रभावित भएको हो ।

त्यस्तै, व्यापार उपसमूह ३ दशमलव ९६, विकास बैंक ३ दशमलव १८, वित्त (फाइनान्स) ३ दशमलव ०३, जलविद्युत् २ दशमलव ८१, लगानी २ दशमलव ६७ र बैंकिङ उपसमूह २ दशमलव ३१ प्रतिशतले घटेका छन् । यसैगरी, निर्जीवन बीमा २ दशमलव २२, होटल तथा पर्यटन २ दशमलव १२, जीवन बीमा २ दशमलव ०२, लघुवित्त १ दशमलव ९९ र उत्पादन तथा प्रशोधन उपसमूह शून्य दशमलव ३९ प्रतिशतले ओरालो लागेका छन् ।

समग्र बजार घटे पनि हालै नेप्सेमा सूचीकृत भएका ६ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यता, नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । सो कम्पनीको सेयर मूल्य ९ दशमलव ८४ प्रतिशतले घटेको छ । त्यस्तै, सप्तकोशी विकास बैंकको ७ दशमलव २८, नेसनल हाइड्रोपावरको ७ दशमलव १७, शिवश्री हाइड्रोपावरको ७ दशमलव ०० र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य ६ दशमलव ४१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । त्यस्तै, अपी पावर, ङादी ग्रुप पावर, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी धेरै कारोबार हुने कम्पनीको सूचीमा क्रमशः अगाडि रहेका छन् ।