अनाधिकृत वक्तव्य जारी गरेको भन्दै कांग्रेसद्वारा नेता खड्कालाई सचेत : गल्ती दोहोर्‍याए कारबाहीको चेतावनी

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसको अनुशासन समितिले पार्टीको नक्कली ‘लेटरप्याड’ प्रयोग गरी अनाधिकृत वक्तव्य जारी गरेको भन्दै नेता पूर्णबहादुर खड्कालाई सचेत गराएको छ ।

नेता खड्काले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेको विरोधमा आफूलाई पार्टीको ‘कार्यवाहक सभापति’ दाबी गर्दै गत चैत १४ गते विज्ञप्ति जारी गर्नुभएको थियो । सोही विषयलाई लिएर आज बसेको अनुशासन समितिको बैठकले उहाँलाई सचेत गराउँदै यस्ता गल्ती दोहोर्‍याए कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा आज जारी विज्ञप्तिमा पार्टीको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी दाबी गर्दै वक्तव्य जारी गर्नु गलत भएको ठहर गरिएको छ ।

“विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै मिति २०८२ चैत १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ,” जारी विज्ञप्तिमा भनिएको छ ।

साथै, समितिले अब उप्रान्त यस्ता किसिमका गलत कार्य गर्ने जो–कोही व्यक्तिउपर पनि नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) र प्रचलित नेपाल कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने कडा निर्णयसमेत गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *