नयाँ संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ दलीय समीकरण र कार्यसूची

काठमाडौँ, १९ चैत । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि गठित नयाँ संसद्को पहिलो अधिवेशन आज (बिहीबार) देखि प्रारम्भ हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो २:०० बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानबमोजिम आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भौतिक, सुरक्षा तथा प्राविधिक लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको छ। राष्ट्रियसभाको बैठक भने सचिवालयस्थित पुरानै राष्ट्रियसभा कक्षमा बस्नेछ।

२७५ सदस्यीय प्रतिनिधिसभामा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाइ जनताले भारी बहुमतका दिएकाे छ । र सबैभन्दा ठूलो दलका रूपमा उपस्थित भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): १८२ सिट
नेपाली कांग्रेस: ३८ सिट
नेकपा (एमाले): २५ सिट
नेपाली कम्युनिष्ट पार्टी (नेकपा): १७ सिट
श्रम संस्कृति पार्टी: ७ सिट
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ५ सिट
स्वतन्त्र: १ सिट

आजको कार्यसूची र अध्यादेशहरू
संसद्को पहिलो बैठकमा गृह प्रशासनसँग सम्बन्धित तीनवटा महत्वपूर्ण अध्यादेशहरू पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ सभासमक्ष पेस गर्नुहुनेछ।

बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य एवं सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरू पढेर सुनाउनुहुनेछ। साथै, नयाँ नियमावली नबनेसम्मका लागि ‘प्रतिनिधिसभा नियमावली २०७९’ अनुसार नै सदनको कामकारबाही अघि बढाउने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गरिने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो।

आजको बैठकमा दलीय आधारमा नेताहरूले आफ्नो मन्तव्य राख्नेछन् भने सभामुखले नयाँ सभामुख चयनका लागि निर्वाचनको मिति समेत तोक्नुहुनेछ। बैठकको अन्त्यमा पूर्वसांसद एवं संविधानसभा सदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोराको निधनमा शोक प्रस्ताव पारित गरिने कार्यसूची रहेको छ।