ट्रम्पको सम्बोधनलगत्तै इजरायलमा इरानको शक्तिशाली क्षेप्यास्त्र प्रहार

एजेन्सी, १९ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धसम्बन्धी विषयमा सम्बोधन गरेलगत्तै इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको छ। बिहीबार बिहानैदेखि इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरूको लहरको सामना गरिरहेको इजरायली सेनाले जनाएको छ।

आक्रमणपछि मध्य इजरायलका करिब नौवटा प्रभावित स्थानमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। तेल अभिभ क्षेत्रमा भएको आक्रमणमा परी चार जना सामान्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले चिकित्सकहरूलाई उद्धृत गर्दै जनाएका छन्।

आक्रमणबाट फराकिलो क्षेत्रमा क्षति पुगेको देखिँदा इरानले प्रतिबन्धित ‘क्लस्टर’ हतियार प्रयोग गरेको हुन सक्ने इजरायली सञ्चारमाध्यमहरूको अनुमान छ। हावामै विस्फोट भएर साना–साना बम चारैतिर छरिने यस्ता हतियार प्रयोग गरेको भन्दै यी दुई देशले यसअघि पनि एकअर्कालाई आरोप लगाउँदै आएका थिए।

पहिलो आक्रमणको करिब ६ घण्टापछि इरानले पुनः तीन चरणमा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले पुष्टि गरेको छ। आक्रमणको सम्भावित खतरालाई मध्यनजर गर्दै उत्तरी र मध्य इजरायलका अधिकांश क्षेत्रमा हवाई साइरन बजाइएको थियो।

यद्यपि, स्थिति केही सामान्य बनेपछि सेनाको ‘होम फ्रन्ट कमान्ड’ले सर्वसाधारणलाई सुरक्षित आश्रयस्थल (बङ्कर) बाट बाहिर निस्कन अनुमति दिएको छ। पछिल्लो आक्रमणबाट भने कुनै ठूलो मानवीय वा भौतिक क्षतिको विवरण तत्काल प्राप्त भएको छैन।

यसअघि बुधबार मात्रै यहुदीहरूको प्रमुख चाड ‘पासओभर’ (निस्तार पर्व) को तयारी भइरहँदा भएको इरानी आक्रमणमा ११ वर्षीया बालिकासहित १४ जना घाइते भएका थिए।

अर्कोतर्फ, उत्तरी इजरायलमा लेबनानको सशस्त्र समूह हिजबुल्लाहले पनि आक्रमण तीव्र पारेको छ। गत मार्च २ देखि युद्धमा होमिएको इरान–समर्थित हिजबुल्लाहले इजरायली सीमा क्षेत्र र गाउँहरूमा रकेट तथा ड्रोन प्रहार गरेको दाबी गरेको छ। बिहीबार बिहानै लेबनानबाट आक्रमणको चेतावनीसहित उत्तरी इजरायलमा साइरन बजाइएको भए पनि यसबाट कुनै मानवीय क्षति नभएको बताइएको छ।