उपसभामुखको प्रमुख हकदार प्रतिपक्षी दल हो- महामन्त्री पौडेल
काठमाडौं, २० चैत । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा आफ्नो तर्फबाट उम्मेदवारी नदिने स्पष्ट पार्दै उपसभामुख पद प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने दाबी गरेको छ।
सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले सभामुख पदमा आफ्नो मनोनयन दर्ता गराइसकेका छन्। कांग्रेसले भने संसदको ठूलो दलको हैसियतमा रास्वपा नै सभामुखको हकदार रहेको भन्दै आफ्नो तर्फबाट उम्मेदवार नउठाउने निर्णय गरेको हो।
कांग्रेस नेता तथा महामन्त्री प्रदीप पौडेलले सभामुखको भूमिका तटस्थ र निष्पक्ष हुनुपर्ने मान्यताका साथ पार्टीले उम्मेदवारी नदिएको बताए।
“हामीसँग प्रस्तावक र समर्थक नभएर उम्मेदवारी नदिएको होइन, हाम्रा ३८ जना सांसद हुनुहुन्छ,” पौडेलले भने, “संसदको अंकगणितअनुसार ठूलो दल रास्वपाकै उम्मेदवारले जित्ने अवस्था छ। सभामुख पदको तटस्थता कायम होस् भन्ने विश्वासका साथ हामीले उम्मेदवारी नदिएका हौं।”
दलीय हैसियत र संसदीय अभ्यासलाई औंल्याउँदै पौडेलले उपसभामुखमा भने कांग्रेसको स्वाभाविक दाबी रहने स्पष्ट पारे। “सभामुखको हकदार जुन पक्ष हो, त्यहीअनुसार सोच्ने हो भने उपसभामुखको हकदार प्रमुख प्रतिपक्षी दल नै हो,” उनले भने।