अमेरिकी र इजरायली आक्रमणपछि पनि इरानको सैन्य क्षमता कायमैः अझै ठूलो क्षति पुर्‍याउन सक्ने अमेरिकी प्रतिवेदनको निष्कर्ष

एजेन्सी, २० चैत्र । अमेरिका र इजरायलले गरेको व्यापक सैन्य आक्रमणका बाबजुद इरानसँग अझै पनि गम्भीर सैन्य आक्रमण गर्न सक्ने क्षमता कायम रहेको एक अमेरिकी गुप्तचर प्रतिवेदनले औंल्याएको छ।

पछिल्लो गुप्तचर मूल्याङ्कनअनुसार, एक महिनाअघि भएको आक्रमणपछि पनि इरानका करिब आधा क्षेप्यास्त्र (मिसाइल) प्रक्षेपण प्रणालीहरू सुरक्षित छन् भने हजारौं ‘वान–वे अट्याक’ (एकतर्फी आक्रमण गर्ने) ड्रोनहरू अझै प्रयोगका लागि तयारी अवस्थामा राखिएका छन्।

गुप्तचर स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरिएको विवरणअनुसार इरान अझै पनि मध्यपूर्व क्षेत्रमा ठूलो क्षति पुर्‍याउन सक्षम छ। इरानसँग ठूलो सङ्ख्यामा क्षेप्यास्त्र तथा तटीय रक्षा प्रणालीका रूपमा प्रयोग हुने क्रुज क्षेप्यास्त्रहरूको उल्लेखनीय हिस्सा सुरक्षित रहेको जनाइएको छ। यी सैन्य हतियारहरू रणनीतिक महत्त्वको ‘होर्मुज जलडमरूमध्य’ नियन्त्रणका लागि निकै महत्त्वपूर्ण मानिन्छन्।

प्रतिवेदनका अनुसार आक्रमणबाट इरानको नियमित नौसेनाका धेरै जहाजहरू नष्ट भए पनि ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) सँग सम्बन्धित नौसैनिक बलले भने आफ्नो करिब आधा क्षमता जोगाउन सफल भएको छ। यसअन्तर्गत सयौंदेखि हजारौंको सङ्ख्यामा साना डुङ्गा र मानवविहीन जलयानहरू बाँकी रहेका छन्।

इरानले आफ्ना क्षेप्यास्त्र प्रणालीहरूलाई सुरुङ र गुफाहरूको भूमिगत सञ्जालमा लुकाएर सुरक्षित राख्न सफल भएको गुप्तचर मूल्याङ्कनले देखाएको छ। यस्ता जटिल भूमिगत संरचनाका कारण ती हतियारलाई लक्ष्य बनाएर नष्ट गर्न अमेरिका र इजरायललाई कठिन भएको बताइएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही सम्पन्न गर्न दुईदेखि तीन हप्ताको समयसीमा उल्लेख गरे पनि गुप्तचर मूल्याङ्कनको अध्ययन गरेका अधिकारीहरूले भने उक्त समयसीमा यथार्थपरक नभएको टिप्पणी गरेका छन्।

हालसम्म पनि इजरायल, खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरू र त्यहाँ तैनाथ अमेरिकी सेनाले इरान तथा इरान समर्थित समूहबाट हुने नियमित क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गरिरहेका छन्।y.