४१८ वर्षदेखि दलित र ब्राह्मणले सँगै पूजा गर्ने बैतडीको वनारसीधाम : जातीय समानताको ऐतिहासिक धरोहर राज्यको उपेक्षामा
कञ्चनपुर, २२ चैत । नेपालको संविधान र कानुनले छुवाछूत र जातीय विभेदलाई निषेध गरेको धेरै भएको छैन । तर, सुदूरपश्चिम प्रदेशको बैतडीस्थित वनारसीधाम (विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठ) ले भने ४१८ वर्षअघि नै सामाजिक समानताको अभ्यास सुरु गरेको थियो । दलित र ब्राह्मण पुजारीले एउटै मन्दिरमा संयुक्त रूपमा पूजा गर्ने यो धाम जातीय विभेदविरुद्धको एउटा ऐतिहासिक ‘जीवित सङ्ग्रहालय’ का रूपमा उभिएको छ । यद्यपि, समानताको यस्तो अद्वितीय सन्देश बोकेको धरोहर विकास र पूर्वाधारका हिसाबले भने राज्यको चरम उपेक्षामा परेको छ ।
पाटन नगरपालिका–३ मा अवस्थित यस धामको इतिहास तत्कालीन स्वराड क्षेत्रका राजा मानुक चन्द (मनि चन्द) को शासनकालसँग जोडिएको छ । अनुसन्धानकर्ता तथा आचार्य पण्डित गणेशप्रसाद पन्तका अनुसार, वि.सं. १६०४ तिर समाजमा जातीय विभेदका कारण सद्भाव खल्बलिएपछि राजाले समाधान खोज्न राजगुरु वीरभद्र पन्तलाई निर्देशन दिएका थिए ।
“राजगुरुको पहलमा पण्डित, विष्ट, कोली, दमाई, लुहारलगायत सबै जातजातिको वृहत् भेला बोलाइयो । लामो छलफलपछि ‘धर्म र आस्थाको क्षेत्रमा कुनै पनि प्रकारको जातीय विभेद नगर्ने’ ऐतिहासिक निर्णय भयो,” आचार्य पन्त भन्छन्, “राजसभाबाटै यो निर्णय पारित भएपछि दलित समुदायका व्यक्तिलाई समेत पुजारी नियुक्त गरी ब्राह्मणसँगै संयुक्त रूपमा पूजा गर्ने परम्परा सुरु गरियो ।”
त्यो कठोर जातीय व्यवस्था भएको समयमा धार्मिक क्षेत्रमा समानता लागू गर्नु आफैँमा ठूलो सामाजिक क्रान्ति भएको वनारसीधाम विश्वनाथ सेवा समाजका उपाध्यक्ष मनिराम कोली बताउँछन् । आज पनि यस धाममा दलित पुजारीबाट टीका लगाउने र प्रसाद ग्रहण गर्ने परम्परा छ । ब्राह्मण र दलित पुजारी सँगै बसेर अनुष्ठान गर्छन् र यहाँ आउने भक्तजनले पुजारीको जात सोध्ने कुरै आउँदैन ।
स्कन्द महापुराणको मानसखण्डमा समेत यस धामको वर्णन गरिएको पाइन्छ । सरयू र गोमती नदीको सङ्गम तथा नील पर्वतको फेदीमा अवस्थित यहाँको विश्वनाथ ज्योतिर्लिङ्गलाई शक्तिपीठका रूपमा पुजिन्छ । यहाँ माघ महिनामा लाग्ने ‘२२ ताल कुम्भ मेला’ विशेष प्रख्यात छ, जहाँ २२ वटा जलाशयबाट पानी सङ्कलन गरी शिवलिङ्गमा स्नान गराइन्छ । यस धाममा नेपालका विभिन्न जिल्लाका साथै भारतको उत्तराखण्ड, उत्तरप्रदेश, पञ्जाबदेखि कर्नाटकसम्मका हजारौँ भक्तजन चिनोबानो र पञ्चेबाजासहित पूजा गर्न आउने गर्छन् ।
यति ठूलो ऐतिहासिक र धार्मिक महत्त्व बोकेको क्षेत्रको विकास भने स्थानीयको चन्दा र सहयोगको भरमा मात्र टिकेको छ । मन्दिरको व्यवस्थापनका लागि ६६६ रोपनी जग्गा गुठीको नाममा भए पनि पूर्वाधार विकासमा सरकारी बजेट पुग्न सकेको छैन ।
वनारसीधाम विश्वनाथ सेवा समाजका अध्यक्ष उत्तरबहादुर चन्दका अनुसार, धामको समग्र विकासका लागि १८ करोड ८० लाख रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ । तर, बजेट अभावमा त्यो कागजमै सीमित छ । “स्थानीय स्तरबाट ७५ फिट अग्लो मन्दिर निर्माणलगायतका काम गर्दा समितिमाथि उल्टै १६ लाख रुपैयाँ ऋण लागिसक्यो,” अध्यक्ष चन्दले दुखेसो पोखे, “बजेट माग्दै विभिन्न निकायमा धायौँ, तर कतैबाट सुनुवाइ भएन ।”
मन्दिरसम्म पुग्ने सडक, नदीमा पुल, धर्मशाला, खानेपानी र तटबन्धको अभावले भक्तजनले सास्ती खेप्नुपरेको छ । मन्दिरका मूल पुजारी धिरे लुहारका अनुसार, उचित पूर्वाधार र प्रचारप्रसार गर्न सके यो धाम सुदूरपश्चिमकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्छ ।
“वनारसीधामको कथा एउटा मन्दिरको कथा मात्र होइन, यो विभेदविरुद्धको इतिहास र समानताको जीवित सन्देश हो,” मूल पुजारी लुहार भन्छन्, “यस्तो महत्त्वपूर्ण धरोहरलाई राज्यले आफ्नो प्राथमिकतामा राखेर संरक्षण र विकास गर्न आवश्यक छ ।”