बैतडीमा ट्याक्टर दुर्घटना : ३ सय मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु
बैतडी, ६ बैशाख । बैतडीको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
बिहीबार (आज) सिगास–८ लुपुणबाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ त १३८४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट खस्दा सिगास–८ टोलखेतका २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज सिंहका अनुसार, ट्याक्टरमा चालकसहित दुई जना सवार थिए । दुर्घटनामा ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
ट्याक्टर चालक सिगास गाउँपालिका–५ का अन्दाजी ३० वर्षीय दानबहादुर धामी भने सकुशल रहेको र उनी प्रहरीको सम्पर्कमा आइसकेको इन्स्पेक्टर सिंहले जानकारी दिनुभयो । दुर्घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।