पाथीभरा एकेडेमीकाे १२ औँ दीक्षान्त समारोह तथा अभिभावक दिवस सम्पन्न, ‘स्मार्ट प्यारेन्टिङ’मा जोड

भक्तपुर, २३ चैत । भक्तपुरकाे सृजनानगरस्थित पाथीभरा एकेडेमीले आफ्नो प्री–स्कुल तहको अभिभावक दिवस तथा १२ औँ दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न गरेको छ।

समारोहमा विद्यालयका संस्थापक प्रधानाध्यापक रमेशप्रसाद सिटौलाले स्वागत मन्तव्य राख्दै वर्तमान समयमा ‘स्मार्ट प्यारेन्टिङ’को आवश्यकतामाथि प्रकाश पार्नुभयो। उहाँले बालबालिकाको रुचि, क्षमता र भावनालाई बुझेर उनीहरूलाई आत्मविश्वासी र सिर्जनशील बनाउन अभिभावकहरूले सचेत, संवेदनशील र प्रविधिमैत्री ढङ्गले पालनपोषण गर्नुपर्नेमा जोड दिनुभयो।

नानीबाबुहरूको प्रतिभा देखेर उपस्थित अतिथि तथा अभिभावकहरू मन्त्रमुग्ध भएका थिए। सोही अवसरमा अभिभावकहरूका लागि समेत विभिन्न मनोरञ्जनात्मक खेलहरूको आयोजना गरिएको थियो।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्यहरू रामचन्द्र थापामगर, बुद्धिबहादुर थापा र सुवासनाथ गोङलको उपस्थिति रहेको थियो। त्यसैगरी, ‘वी क्यान एजुकेसन नेपाल’ भक्तपुरका सचिव कमल बहादुर सुवाल, सह–सचिव अनिस खत्री, प्राध्यापकद्वय जगदीश पौडेल र तुलसी भेट्वाल, शैक्षिक संयोजक शर्मिला प्रधानाङ तथा विद्यालय इन्चार्ज कल्पना वलीलगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

विद्यालयले २०८३ सालदेखि कक्षा नाै काे पनि भर्ना खुलाउने भएकाे छ ।  हाल विद्यालयमा लगभग ४ सय विद्यार्थी अध्ययनरत रहेका छन् भने विद्यालयले नगर शिक्षा समितिसंगकाे समन्वयमा सञ्चालन प्रक्रिया अगाडी बढाइसकेकाे संस्थापक प्रधानाध्यापक रमेशप्रसाद सिटौलाले जानकारी दिनुभयाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त सिटौलाको सभाध्यक्षतामा आयोजित उक्त समारोहमा नानीबाबुहरूलाई दीक्षित गरिनुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन गरिएको थियो।

दीक्षान्त समारोहअन्तर्गत उत्तीर्ण भएका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूको शैक्षिक यात्राको सफलताका लागि शुभकामना व्यक्त गरिएको थियो। समापनका क्रममा सभाध्यक्ष हेमन्त सिटौलाले दीक्षित विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै विद्यालय, शिक्षक र अभिभावकबीचको बलियो सहकार्यले मात्र बालबालिकाको सफल भविष्य निर्माण हुने धारणा राख्नुभयो।

मन्टेश्र्वरी संयोजक लक्ष्मी प्रधानाङले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा साना विद्यार्थीहरूले गीत, नृत्य तथा विभिन्न रचनात्मक कला प्रस्तुत गरेका थिए।