मध्यपूर्व तनावको असर: ओपेक प्लसद्वारा तेल उत्पादन बढाउने निर्णय, समुद्री मार्गको सुरक्षामा जोड
एजेन्सी, २३ चैत्र । मध्यपूर्वमा बढ्दो सैन्य द्वन्द्व र सम्भावित ऊर्जा सङ्कटको जोखिमबीच तेल उत्पादक तथा निर्यातक मुलुकहरूको सङ्गठन (ओपेक) र यसका सहयोगी राष्ट्रहरू (ओपेक प्लस) ले तेल उत्पादन बढाउने निर्णय गरेका छन्। ओपेकद्वारा जारी आधिकारिक वक्तव्यअनुसार आगामी मे महिनादेखि दैनिक २ लाख ६ हजार ब्यारेल तेल उत्पादन वृद्धि गरिनेछ।
साउदी अरेबिया, रुस, इराक, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, काजाकस्तान, अल्जेरिया र ओमानका प्रतिनिधिहरू सम्मिलित भर्चुअल बैठकपछि यो निर्णय सार्वजनिक गरिएको हो। बैठकमा विश्व ऊर्जा बजारको वर्तमान अवस्था र भावी परिदृश्यको गम्भीर समीक्षा गरिएको थियो।
मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यनजर गर्दै यी आठ राष्ट्रले अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षा ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको निष्कर्ष निकालेका छन्। ऊर्जा पूर्वाधारमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणले विश्वव्यापी आपूर्ति प्रणालीमा गम्भीर असर पुर्याएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
क्षतिग्रस्त ऊर्जा संरचनाहरूलाई पूर्ववत् पूर्ण क्षमतामा फर्काउन निकै महँगो पर्ने र लामो समय लाग्ने भएकाले यसप्रति विशेष सावधानी अपनाउनुपर्नेमा ओपेक प्लस राष्ट्रहरूले जोड दिएका छन्।
गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि शृङ्खलाबद्ध हवाई आक्रमण गरेपछि मध्यपूर्वको क्षेत्रीय ऊर्जा आपूर्तिमा ठूलो अवरोध सिर्जना भएको छ। द्वन्द्वका कारण कच्चा तथा प्रशोधित तेलको उत्पादन र ढुवानीमा भारी गिरावट आएको छ। यही अभावलाई पूर्ति गर्न र सम्भावित विश्वव्यापी ऊर्जा सङ्कटलाई रोक्ने रणनीतिक कदमका रूपमा ओपेक प्लसले तेल उत्पादन बढाउने निर्णय लिएको विश्लेषकहरूले बताएका छन्।
यस विषयमा थप समीक्षा गर्न र आगामी रणनीति तय गर्न ओपेक प्लसका यी आठ राष्ट्रले आगामी मे ३ तारिखमा अर्को बैठक बस्ने तय गरेका छन्।