गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं, २५ चैत्र । गैरकानुनी सम्पत्ति आर्जन (सम्पत्ति शुद्धीकरण) को अभियोगमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ ।
अदालतले पक्राउ पुर्जी जारी गरे तापनि देउवा दम्पती हाल नेपालबाहिर (विदेशमा) रहेका कारण तत्काल पक्राउ भने पर्न सकेका छैनन् ।
“अदालतबाट पक्राउ अनुमति प्राप्त भइसकेको छ, तर उहाँहरू देशबाहिर रहेकाले अहिले नै पक्राउ गर्न सकिएको छैन,” अनुसन्धानसँग सम्बन्धित एक उच्च अधिकारीले बताए ।
देउवा दम्पती स्वदेश फर्किएलगत्तै उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाउने विभागको तयारी रहेको बुझिएको छ ।