अमेरिका–इरान युद्धविराम : शुक्रबार इस्लामावादमा ‘निर्णायक वार्ता’

एजेन्सी, २५ चैत्र । मध्यपूर्वमा चर्किएको द्वन्द्व रोक्न अमेरिका र इरानबीच दुई हप्ते अस्थायी युद्धविराम भएसँगै आगामी शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादमा ‘निर्णायक वार्ता’ हुने भएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अमेरिका र इरानका प्रतिनिधिमण्डललाई आगामी शुक्रबार (१० अप्रिल, सन् २०२६) इस्लामावादमा स्वागत गर्न आफूहरू तयार रहेको घोषणा गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट सम्बन्ध बनाएको र छिमेकी इरानप्रति पनि उत्तिकै संवेदनशील रहेको पाकिस्तानले यसपटक वासिङ्टन र तेहरानबीच मुख्य मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ । दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्री सरिफले ‘इस्लामावाद वार्ता’ ले मध्यपूर्वमा दिगो शान्ति कायम गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका सम्पूर्ण ऊर्जा केन्द्र (पावर प्लान्ट) र पुलहरू ध्वस्त पार्ने चेतावनीसहित दिएको समयसीमा सकिनु मात्र एक घण्टाअघि दुई देशबीच युद्धविरामको सहमति जुटेको थियो । पाकिस्तानलगायतका मध्यस्थकर्ताहरूको निरन्तरको प्रयासपछि यो विनाशकारी आक्रमण टरेको हो ।

गत फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेताको हत्या भएपछि इजरायल र अमेरिकाविरुद्ध इरानले खाडी राष्ट्र र इजरायलमाथि जवाबी हमला गरेसँगै यो युद्ध भड्किएको थियो ।

इरान समर्थित हिज्बुल्लाह समूहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि यस द्वन्द्वमा तानिएको छ । पाकिस्तानी प्रधानमन्त्री सरिफले लेबनानसहित समग्र क्षेत्रमै युद्धविराम लागू भएको दाबी गर्नुभएको छ । तर, इजरायलले भने उक्त दाबीको खण्डन गर्दै लेबनानमा हिज्बुल्लाहविरुद्धको आफ्नो सैन्य कारबाही नरोकिने र त्यहाँ युद्धविराम लागू नभएको जिकिर गरेको छ ।

यस अस्थायी युद्धविराम गराउन पाकिस्तानसँगै टर्की र इजिप्टले पनि कूटनीतिक पहल गरेका थिए । फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार, राष्ट्रपति ट्रम्पले इरानलाई वार्ताको टेबलमा ल्याउन चीनले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

दुई हप्ते यो शान्ति अवधिलाई सदुपयोग गर्दै इस्लामावादमा हुने वार्ताले भावी दिनमा युद्ध पूर्ण रूपमा रोकिने वा फेरि भड्किने भन्ने तय गर्नेछ ।