अमेरिका–इरान युद्धविरामलाई विश्व समुदायको स्वागत : सुरक्षित समुद्री मार्ग र दिगो शान्तिको अपेक्षा
एजेन्सी, २५ चैत्र । संयुक्त राज्य अमेरिका र इरानबीच दुई हप्ते अस्थायी युद्धविरामको सहमति भएसँगै दुवै पक्षले आ–आफ्नो जित (विजय) भएको दाबी गरेका छन् । यसैबीच, मध्यपूर्वमा तत्कालका लागि सम्भावित महायुद्ध टरेको भन्दै विश्व समुदायले यस सहमतिको स्वागत गरेको छ । अन्तर्राष्ट्रिय जगत्ले यस कदमलाई शान्ति, स्थिरता र सुरक्षित समुद्री व्यापार मार्ग सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण मानेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले युद्धविरामको स्वागत गर्दै अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र दिगो शान्तिका लागि काम गर्न दुवै पक्षलाई आह्वान गर्नुभएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले युद्धले विश्व अर्थतन्त्र र मानव जीवनमा अपूरणीय क्षति पुर्याउने चेतावनी दिँदै युद्धविरामलाई निरन्तरता दिन र अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गर्न जोड दिनुभएको छ । त्यसैगरी, न्युजिल्यान्डले पनि सहमतिको स्वागत गर्दै स्थायी शान्ति कायम गर्न अझै धेरै कूटनीतिक पहल गर्न बाँकी रहेको जनाएको छ ।
एसियाका प्रमुख आर्थिक शक्तिहरूले यस युद्धविरामले तेल आपूर्तिको मुख्य मार्ग ‘होर्मुज जलडमरूमध्य (स्ट्रेट)’ सुरक्षित हुने विश्वास लिएका छन् ।
विश्वको चौथो ठूलो अर्थतन्त्र र तेलको पाँचौँ ठूलो आयातकर्ता जापानले होर्मुज जलमार्ग हुँदै सुरक्षित आवतजावत (नेभिगेसन) सुनिश्चित गर्न ठोस कदम चालिनुपर्ने बताएको छ । जापानी सरकारका प्रवक्ता मिनोरु किहाराले कूटनीतिक माध्यमबाट चाँडै अन्तिम सम्झौतामा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, दक्षिण कोरियाको विदेश मन्त्रालयले पनि सहमतिको स्वागत गर्दै अब आफ्ना व्यापारिक जहाजहरूले होर्मुज जलमार्ग हुँदै सुरक्षित यात्रा गर्न पाउने आशा व्यक्त गरेको छ ।
लेबनानबारे भने विवाद कायमै
छिमेकी राष्ट्र इराकले युद्धविरामको स्वागत गर्दै अमेरिका र इरानलाई विवादका मूल कारणहरू समाधान गर्न ‘गम्भीर र दिगो संवाद’मा बस्न आह्वान गरेको छ ।
यता, युद्धविरामको मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले लेबनानसहित समग्र क्षेत्रमै युद्धविराम लागू भएको दाबी गर्नुभएको छ । तर, इजरायलले भने लेबनान यस दुई हप्ते सहमतिको दायरामा नपर्ने स्पष्ट पारिसकेको छ । यसले मध्यपूर्वमा अझै पनि द्वन्द्वको जोखिम पूर्ण रूपमा नटरेको सङ्केत गर्छ ।