राष्ट्रिय सभा उपाध्यक्ष लीलाकुमारी भण्डारी एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग
काठमाडौं, २५ चैत्र । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारीले आफ्नो पदीय जिम्मेवारीलाई स्वतन्त्र, निष्पक्ष र तटस्थ बनाउन पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष भण्डारीले आफू आबद्ध दल नेकपा (एमाले) को सम्पूर्ण राजनीतिक तथा साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउनुभएको हो । उहाँ यसअघि एमालेको केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो ।
संसद्को नेतृत्वदायी भूमिकामा रहँदा पदीय मर्यादा र तटस्थता कायम राख्न दलको जिम्मेवारी त्याग्नुपरेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
भण्डारी गत शुक्रबार (चैत २३ गते) राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो । संसद्को पदाधिकारीमा निर्वाचित भएसँगै दलको जिम्मेवारीबाट राजीनामा दिने संसदीय अभ्यास र परम्परा रही आएको छ ।