कञ्चनपुर कारागारभित्र कैदीबन्दीबीच झडप, ५ जना घाइते

धनगढी, २५ चैत्र । कञ्चनपुर जिल्ला कारागारभित्र कैदीबन्दीका दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । बुधबार दिउँसो कैदीबन्दीबीच आपसी विवाद बढेर कुटाकुट हुँदा उनीहरू घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) खड्कबहादुर खत्रीका अनुसार झडपमा परी घाइते हुनेहरूमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम रहेका छन् । घाइतेहरू झडपमा संलग्न दुवै पक्षका रहेको प्रहरीले जनाएको छ ।

घाइते पाँचै जनाको हाल महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एसपी खत्रीका अनुसार झडपमा संलग्न उनीहरू लागुऔषध र चोरी मुद्दामा सजाय काटिरहेका कैदीबन्दी हुन् ।

कारागार स्रोतका अनुसार बुधबार झडपमा उत्रिएका यी दुई समूहबीच यसअघि पनि विवाद र हात हालाहाल भएको थियो । घटनापछि कारागारभित्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।