भोजपुरमा कुटपिटबाट युवकको मृत्यु, संलग्न चार जना पक्राउ
काठमाडौँ, चैत २५ । भोजपुरको षडानन्द नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार षडानन्द नगरपालिका–१३ रेवामा भएको कुटपिटको घटनामा २४ वर्षीय सम्मरबहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ विगत १२ वर्षदेखि सोही वडाको मुखिया टोलस्थित आफ्ना सानाबुवा (काका) शङ्कराज तामाङको घरमा बस्दै आउनुभएको थियो ।
मङ्गलबार राति घरमै पुगेर गरिएको कुटपिटबाट तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक (प्रनाउ) राजु लामाले जानकारी दिनुभयो ।
घटनामा संलग्न रहेको आरोपमा षडानन्द नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनील राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । घटनालगत्तै फरार भएका उनीहरूलाई आज (बुधबार) घरैबाट नियन्त्रणमा लिइएको प्रनाउ लामाले बताउनुभयो ।
पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।