नयाँ शैक्षिक सत्रअगावै कर्णाली र लुम्बिनीका १० जिल्लामा पुग्यो साढे ४ लाख पाठ्यपुस्तक
नेपालगञ्ज, २६ चैत्र । नयाँ शैक्षिक सत्र (२०८३) सुरु हुनुअगावै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । विगतका वर्षहरूमा शैक्षिक सत्र सकिन लाग्दासमेत पुस्तक नपाउने विद्यार्थीले यसपटक भने भर्ना अभियानसँगै नयाँ पाठ्यपुस्तक पाउने भएका छन् ।
जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय (प्रेस) नेपालगञ्जले शैक्षिक सत्र सुरु हुनुपूर्व नै विद्यालयस्तरका पाठ्यपुस्तक सम्बन्धित जिल्लाहरूमा पठाइसकेको जनाएको छ । कार्यालयका प्रमुख रुद्र खनालका अनुसार आगामी शैक्षिक सत्रका लागि चैत २४ गतेसम्ममै ४ लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री वितरण भइसकेको छ ।
नेपालगञ्जस्थित प्रादेशिक कार्यालयमार्फत कर्णाली र लुम्बिनी प्रदेशका गरी कुल १० जिल्लामा पाठ्यपुस्तक आपूर्ति हुने गरेको छ । प्रमुख खनालका अनुसार कर्णाली प्रदेशका विकट जिल्लाहरू हुम्ला र डोल्पासहित रुकुम पश्चिम, जाजरकोट र सल्यानमा पुस्तक पुगिसकेको छ ।
त्यसैगरी, लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके जिल्लाका बिक्रेताहरूमार्फत पनि विद्यार्थीको हातहातमा पुग्ने गरी समयमै पाठ्यपुस्तक पठाइएको कार्यालयले जनाएको छ । समयमै पुस्तक पुगेपछि विद्यार्थी, अभिभावक र शिक्षकहरू उत्साहित भएका छन् ।