नयाँ वर्ष लक्षित ‘दशौँ भक्तपुर व्यापार महोत्सव’ सुरु : ५ लाख दर्शक उतार्ने लक्ष्य, ५० प्रतिशतसम्म छुट
भक्तपुर, २६ चैत्र । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर भक्तपुरको सल्लाघारीमा ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/८३’ आजदेखि सुरु भएको छ ।
उपभोक्तालाई एकै स्थानमा दैनिक उपभोग्यदेखि सम्पूर्ण आवश्यक सामग्री उपलब्ध गराउने र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले ‘औद्योगिक शान्ति नेपाल संस्था’ ले यो बृहत् महोत्सव आयोजना गरेको हो ।
संस्थाका अध्यक्ष सन्दीप महतका अनुसार महोत्सवमा १८० वटा विभिन्न प्रदर्शनी कक्ष (स्टल) राखिएका छन् । जसमा दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पलदेखि लिएर स्थानीय हस्तकला, काष्ठकला र माटाका भाँडाहरू बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन् । यसका साथै, कृषि औजार, अटोमोबाइल, सूचना प्रविधि र इलेक्ट्रोनिक्स सामानका स्टलहरूसमेत महोत्सवमा समावेश छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै भक्तपुरको कला, संस्कृति र परम्परालाई प्रचारप्रसार गर्नु महोत्सवको मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ ।
यस वर्षको महोत्सवमा ‘लन्डन ब्रिज’ को आकृतिलाई मुख्य आकर्षणको रूपमा निर्माण गरिएको छ । महोत्सव परिसरभित्र बालबालिका र युवाहरूका लागि उत्कृष्ट बाल उद्यान (एम्युजमेन्ट पार्क), रोटे पिङ, ड्रागन ट्रेन, डुङ्गालगायतका खेलौनाहरू राखिएका छन् ।
त्यसैगरी, दर्शकलाई भरपुर मनोरञ्जन दिन दैनिक रूपमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूबाट साङ्गीतिक प्रस्तुति, हास्यव्यङ्ग्य, फेसन शो र नृत्य प्रतियोगितासमेत आयोजना गरिने अध्यक्ष महतले जानकारी दिनुभयो । मेलामा विभिन्न स्वादिष्ट परिकारहरू समावेश गरी फुड फेस्टिभल पनि सञ्चालन गरिएको छ ।
५ लाखले अवलोकन गर्ने अपेक्षा, प्रवेशमा विशेष छुट
महोत्सवका संयोजक दीपक थापाले करिब ५ लाखभन्दा बढी दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा राखिएको बताउनुभयो । दर्शकलाई आकर्षित गर्न महोत्सवमा राखिएका सामान खरिद गर्दा २० देखि ५० प्रतिशतसम्म भारी छुटको व्यवस्था मिलाइएको छ ।
भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे र आसपासका बासिन्दालाई लक्षित गरिएको यस महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र ५ वर्षमुनिका बालबालिकाका लागि भने प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ । आजबाट सुरु भएको यो महोत्सव आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।