नुवाकोटको दुप्चेश्वरमा वैशाख १ गते ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट’ प्रतियोगिता हुने
कामठाडौँ, चैत २८ । नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गते नुवाकोटको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिर परिसरमा ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट’ प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल रिङ रेस्लिङ सङ्घ, नुवाकोटको आयोजना तथा केन्द्रीय सङ्घको सहकार्यमा हुन लागेको यस प्रतियोगितामा देशभरका १५ भन्दा बढी चर्चित रेस्लरहरूको सहभागिता रहने शुक्रबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपाल रिङ रेस्लिङ सङ्घका महासचिव कमल तामाङ (नुवाकोटे टाइगर) का अनुसार नुवाकोटको धार्मिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने र रेस्लिङ खेललाई मोफसलसम्म विस्तार गर्ने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । नुवाकोटमा यसअघि ‘आरडब्लु समरस्ल्याम’ र ‘रेस्लिङ महाभीडन्त’ जस्ता प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न भइसकेकाले यसपटकको ‘न्यू इयर ब्लास्ट’ थप रोचक र आकर्षक हुने आयोजकको दाबी छ ।
प्रतियोगितामा नेपालका प्रख्यात रेस्लरहरू नुवाकोटे टाइगर, साइन, डेभिड, चट्टान, किङ्ग–रोबर्ट, उर्गेन, ठागू, तनु, आकृति, सुजल, एक्स–हिरो र सिजे–वल्ड लगायतको प्रतिस्पर्धा रहने सङ्घका जिल्ला अध्यक्ष प्रलाद थापाले जानकारी दिनुभयो । यस कार्यक्रमले ओझेलमा परेका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्दै स्थानीय आर्थिक उपार्जनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।