४७ वर्षपछि अमेरिका र इरानबीच पहिलो प्रत्यक्ष वार्ता: इस्लामाबादमा रातभरि घनीभूत छलफल

एजेन्सी, २९ चैत । विश्वका दुई कट्टर प्रतिद्वन्द्वी मुलुक अमेरिका र इरानबीच ४७ वर्ष लामो कूटनीतिक गतिरोध तोड्दै पाकिस्तानको राजधानी इस्लामाबादमा ऐतिहासिक प्रत्यक्ष वार्ता भएको छ। इस्लामाबादस्थित होटल सेरेनामा शनिबार दिउँसोदेखि सुरु भएको यो त्रिपक्षीय वार्ता आइतबार बिहान ५:०० बजेसम्म चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन् १९७९ को इस्लामिक क्रान्ति र तेहरानस्थित अमेरिकी दूतावास कब्जाको घटनापछि यी दुई मुलुकका उच्च अधिकारीहरू यसरी औपचारिक रूपमा प्रत्यक्ष वार्तामा बसेको यो पहिलो पटक हो। वार्तापछि दुवै पक्षले आ–आफ्ना प्राविधिक टोलीमार्फत लिखित दस्तावेजहरू आदानप्रदान गरेका छन्, यद्यपि ती दस्तावेजमा उल्लेखित विषयवस्तु गोप्य राखिएको छ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने टोलीमा विशेष दूत स्टिभ विटकफ र डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर समेत सहभागी छन्। इरानी पक्षबाट संसद्का सभामुख मोहम्मद बाघेर गालीबाफ र विदेशमन्त्री अब्बास अरागचीले वार्ताको नेतृत्व गरेका थिए।

वार्तामा रणनीतिक महत्वको ‘स्ट्रेट अफ होर्मुज’ (होर्मुज जलडमरूमध्य) को नियन्त्रण र सुरक्षा मुख्य विवादको विषय बनेको छ। इरानले होर्मुजमा आफ्नो पूर्ण नियन्त्रण हुनुपर्ने, विदेशी बैंकमा रोक्का राखिएको इरानी सम्पत्ति फुकुवा गरिनुपर्ने, युद्धको क्षतिपूर्ति पाउनुपर्ने र लेबननसहित समग्र क्षेत्रमा युद्धविराम हुनुपर्ने माग अघि सारेको छ। साथै, इरानले होर्मुजबाट गुज्रिने जहाजहरूबाट ‘ट्रान्जिट’ शुल्क उठाउने प्रस्ताव समेत राखेको छ।

अर्कोतर्फ, अमेरिकाले विश्वव्यापी जल यातायातमा कुनै अवरोध हुन नहुने र इरानको आणविक कार्यक्रमलाई निश्चित सीमाभित्र राख्नुपर्ने न्यूनतम सर्त अघि सारेको रोयटर्सले जनाएको छ। वार्ताका क्रममा कहिले सम्बन्ध सुधारको सङ्केत देखिने त कहिले तनाव चुलिने ‘तातो–चिसो’ वातावरण सिर्जना भएको बताइएको छ।

वार्तामा सहभागी इरानी प्रतिनिधिमण्डलले कालो पोसाक लगाएर हालैको युद्धमा मारिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीप्रति शोक व्यक्त गरेका थिए। उनीहरूले अमेरिकी आक्रमणमा ज्यान गुमाएका विद्यार्थीहरूको प्रतीकस्वरूप जुत्ता र झोलाहरू समेत वार्ता स्थलमा ल्याएका थिए, जसले गर्दा वार्ताको वातावरण निकै भावुक र तनावपूर्ण बनेको थियो।

एक वर्षअघिसम्म कूटनीतिक रूपमा एक्लिएको अवस्थामा रहेको पाकिस्तानका लागि यो वार्ता आयोजना गर्नु ठूलो सफलता मानिएको छ। इस्लामाबादभर हजारौँ सैनिक र अर्धसैनिक परिचालन गरी सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो।

यस वार्ताको नतिजाले हालै भएको दुई हप्ताको अस्थायी युद्धविराम स्थायी शान्तितर्फ अघि बढ्छ वा पुनः युद्ध सुरु हुन्छ भन्ने कुराको फैसला गर्नेछ। अमेरिकी उपराष्ट्रपति भान्सले वार्ताबारे केही समयपछि पत्रकार सम्मेलन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *