इन्धन खपत घटाउन कार्यवाहक प्रमुखबाट ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयन
काठमाडौँ, चैत २९ । काठमाडौँ महानगरपालिकाले बढ्दो इन्धन संकट र खर्च कटौतीलाई ध्यानमा राख्दै आफ्ना अधिकारीहरूका लागि ‘कार पुलिङ’ (सवारी साधनको सामूहिक प्रयोग) व्यवस्था कार्यान्वयनमा ल्याएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार कार्यालय आउँदा र जाँदा एउटै क्षेत्रका कर्मचारीहरूले समूह बनाएर आलोपालो सवारी साधन प्रयोग गर्ने गरी यो प्रणाली सुरु गरिएको हो ।
विश्वव्यापी रूपमा देखिएको इन्धनको अभाव र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न महानगरले यस्तो निर्णय लिएको हो। कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “विश्वभर इन्धनको अभाव रहेका बेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक सेवाका लागि समेत इन्धन अपुग हुन सक्छ। यस्तो समस्या आउन नदिन र इन्धनको खपत घटाउन ‘कार पुलिङ’ को विकल्प रोजिएको हो ।”
महानगरपालिकाको ४८औँ कार्यपालिका बैठकले यसअघि नै इन्धन कोटामा कटौती गर्ने निर्णय गरिसकेको छ। सोही निर्णयको प्रभावकारी कार्यान्वयनका लागि अहिले ‘कार पुलिङ’ कार्यक्रम अघि सारिएको हो ।
यस व्यवस्था अन्तर्गत कर्मचारीहरूको बसोबास क्षेत्रका आधारमा छुट्टाछुट्टै समूहहरू बनाइएको छ । एउटै रुट वा क्षेत्रबाट आउने-जाने अधिकारीहरूले आफूसँग उपलब्ध सवारी साधनलाई आलोपालो प्रयोग गरी सहकर्मीहरूलाई समेत ल्याउने र लैजाने गर्नुपर्नेछ। यस प्रक्रियाले कार्यालय प्रयोजनका लागि सडकमा निस्कने सवारी साधनको सङ्ख्या घटाउनुका साथै इन्धनको प्रयोगमा उल्लेख्य बचत हुने महानगरको विश्वास छ ।
महानगरको यो कदमले सार्वजनिक प्रशासनमा मितव्ययिता कायम गर्न र वातावरणीय प्रभाव कम गर्न समेत सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।