चन्द्रमाको परिक्रमा गरी ऐतिहासिक रेकर्डसहित फर्कियो ‘आर्टेमिस द्वितीय’ टोली

एजेन्सी, २९ चैत्र । मानव अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय थप्दै ‘आर्टेमिस द्वितीय’ अभियानका चार अन्तरिक्ष यात्री चन्द्रमाको परिक्रमा पूरा गरी ऐतिहासिक रेकर्डसहित सकुशल पृथ्वीमा फर्किएका छन् ।

गहिरो अन्तरिक्षमा मानव इतिहासकै सबैभन्दा लामो दूरीको यात्रा पूरा गरेर फर्केको यस टोलीलाई शनिबार नासाको ह्युस्टनस्थित केन्द्रमा भव्य स्वागत गरिएको छ ।

प्रशान्त महासागरको सान डिएगो तटीय क्षेत्रमा सफल अवतरण गरेपछि उनीहरूलाई त्यहाँबाट उडाएर जोनसन स्पेस सेन्टर नजिकैको एलिङ्गटन फिल्डमा ल्याइएको थियो । कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, अन्तरिक्ष यात्री क्रिस्टिना कोच र क्यानडाका जेरेमी ह्यानसेनले अवतरणलगत्तै आफ्ना परिवारसँग भावुक भेटघाट गरेका थिए ।

नासाका प्रशासक जारेड इसाकम्यानले औपचारिक रूपमा उनीहरूलाई सार्वजनिक गर्दै टोलीप्रति उच्च सम्मान व्यक्त गर्नुभयो । स्वागत कार्यक्रममा नासाका अधिकारीहरू, सैन्य अधिकारी, सांसद तथा पूर्व अन्तरिक्ष यात्रीहरूको ठूलो जमघट रहेको थियो ।

अपोलो १३ कै वार्षिकोत्सवमा नयाँ कीर्तिमान
यो ऐतिहासिक यात्राको समापन सन् १९७० को ‘अपोलो १३’ मिसनको ५६औँ वार्षिकोत्सवकै दिन जुरेको छ । अपोलो १३ अभियान “ह्युस्टन, हामीलाई समस्या परेको छ” भन्ने ऐतिहासिक सन्देशका कारण विश्वभर चर्चित छ ।

करिब १० दिन लामो यस अभियानमा आर्टेमिस टोलीले पृथ्वीबाट अधिकतम ४ लाख ६ हजार ७७१ किलोमिटर (२ लाख ५२ हजार ७५६ माइल) दूरी पार गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेको छ । यो दूरी अपोलो १३ ले राखेको पुरानो रेकर्डभन्दा बढी हो ।

चन्द्रमाको पछाडिको भागबाट ‘यू–टर्न’ गर्दै फर्कने क्रममा उनीहरूले मानव आँखाले यसअघि कहिल्यै नदेखेका दुर्लभ दृश्यहरू कैद गरेका छन् । विशेषगरी, यात्राका क्रममा खिचिएको ‘अर्थसेट’ (Earthset) तस्बिरले ठूलो चर्चा पाएको छ । जसमा खैरो चन्द्रमाको पछाडिबाट पृथ्वीको निलो अंश देखिएको छ । यसले सन् १९६८ मा अपोलो ८ ले खिचेको प्रख्यात ‘अर्थराइज’ तस्बिरको सम्झना दिलाएको छ ।

‘ब्रह्माण्डको कालोपनबीच पृथ्वी एउटा सानो आश्रय’
अन्तरिक्ष यात्रीहरूले आफ्नो अनुभवलाई भावनात्मक र अद्वितीय रूपमा वर्णन गरेका छन् । कमान्डर वाइसम्यानले अन्तरिक्षबाट पृथ्वी देखेपछि फर्कने चाहना झन् प्रबल भएको अनुभव सुनाउनुभयो । अन्तरिक्ष यात्री कोचले भन्नुभयो, “ब्रह्माण्डको विशाल कालोपनबीच हाम्रो ग्रह जीवन बोकेको एउटा सानो आश्रयजस्तो देखिँदो रहेछ ।” क्यानडाका ह्यानसेनले यो यात्रालाई मानवता र आपसी सहकार्यको अद्भुत प्रतिविम्बका रूपमा व्याख्या गर्नुभयो ।

यद्यपि, यात्राका क्रममा अन्तरिक्ष यानको शौचालयमा केही प्राविधिक समस्या देखिएको थियो । नासाले आगामी लामो चन्द्र अभियानअघि उक्त समस्या पूर्ण रूपमा समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

५३ वर्षपछिको उपलब्धि र आगामी लक्ष्य
सन् १९७२ को अपोलो १७ मिसनपछि मानवलाई चन्द्र कक्षासम्म पुर्‍याउने यो पहिलो उपलब्धि हो । आर्टेमिस कार्यक्रमअन्तर्गत नासाले अब थप महत्त्वाकांक्षी योजना अघि बढाएको छ ।

अब अर्को वर्ष ‘आर्टेमिस तृतीय’ मार्फत चन्द्र सतहमा मानव अवतरण गराउने नासाको तयारी छ । त्यसैगरी, सन् २०२८ मा ‘आर्टेमिस चतुर्थ’ मार्फत चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण गर्ने लक्ष्य राखिएको छ । नासाका प्रशासक इसाकम्यानले ५३ वर्षपछि चन्द्र यात्राको पुनरागमनले अन्तरिक्ष अन्वेषणमा नयाँ युगको सुरुआत भएको बताउनुभएको छ ।