दिग्गज भारतीय गायिका आशा भोस्लेको निधन : नेपाली सङ्गीतमा पनि दिएकी थिइन् कालजयी स्वर

 

मुम्बई, २९ चैत्र । दर्जनौँ चर्चित नेपाली गीतसहित हजारौँ बलिउड गीतमा आफ्नो जादुमयी स्वर दिनुभएकी दिग्गज भारतीय गायिका आशा भोस्लेको निधन भएको छ ।

अत्यधिक थकान र छातीमा सङ्क्रमणको समस्या देखिएपछि शनिबार साँझ मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना हुनुभएकी भोस्लेको उपचारका क्रममा आइतबार निधन भएको हो ।

यसअघि उहाँलाई हृदयघात भएको हल्ला बाहिरिए पनि उहाँकी नातिनी जनाई भोस्लेले सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गर्दै छातीमा सङ्क्रमण मात्र भएको जानकारी गराएकी थिइन् । चिकित्सकहरूका अनुसार अस्पताल भर्ना भएदेखि नै उहाँलाई सघन उपचार कक्ष (एचईओसी) मा राखेर उपचार गरिएको थियो ।

गायिका भोस्ले अस्पताल भर्ना भएको खबर बाहिरिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

नेपाली सङ्गीतप्रेमीमाझ पनि आशा भोस्लेको नाम उत्तिकै प्रिय र सम्मानित छ । उहाँले ‘मोहनी लाग्ला है’, ‘पहाडको माथि माथि’, ‘किन बढ्दैछ ढुकढुकी’, ‘एउटा मान्छेको मायाले कति’, ‘म प्यार बेचिदिन्छु’, ‘तिम्रो मनमा लुकेको कुरा’ जस्ता दर्जनौँ कालजयी नेपाली गीतहरूमा आफ्नो सुरिलो स्वर दिनुभएको छ । हिन्दी र नेपालीसहित उहाँले करिब २० वटा भारतीय तथा विदेशी भाषामा गीत गाउनुभएको छ ।

भारतीय सङ्गीत उद्योगकी हस्ती भोस्लेले सात दशकभन्दा लामो साङ्गीतिक करिअरमा विभिन्न भाषा र शैलीमा १२ हजारभन्दा बढी गीत गाउनुभएको छ । प्रसिद्ध रङ्गमञ्च कलाकार तथा शास्त्रीय गायक दीनानाथ मङ्गेशकरकी छोरी र महान् गायिका लता मङ्गेशकरकी कान्छी बहिनी आशा ९ वर्षकी हुँदै बुबाको निधन भएको थियो । त्यसपछि परिवारलाई आर्थिक सहयोग गर्न उहाँले दिदी लतासँगै बाल्यकालमै गायन सुरु गर्नुभएको थियो ।