हर्मुज जलमार्गमा बढ्यो तनाव : अमेरिकाद्वारा इरानी बन्दरगाहमा नाकाबन्दी घोषणा, चीनलाई पनि झट्का
एजेन्सी,३० चैत्र । अमेरिकाले इरानी बन्दरगाहहरूमा पूर्ण रूपमा नाकाबन्दी गर्ने घोषणा गरेको छ । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले सोमबार बिहानदेखि लागू हुने गरी यो कदम चालेको हो । अमेरिकाको यस आक्रामक निर्णयले इरानको अर्थतन्त्रसँगै उसको प्रमुख व्यापारिक साझेदार चीनलाई पनि प्रत्यक्ष असर पर्ने देखिएको छ ।
सेन्टकमले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिअनुसार, अमेरिकी राष्ट्रपतिको निर्देशनबमोजिम इरानी बन्दरगाहमा प्रवेश गर्ने र त्यहाँबाट बाहिरिने सम्पूर्ण समुद्री यातायातमा रोक लगाइनेछ । अरेबियन खाडी र ओमानको खाडीसहित इरानी तटीय क्षेत्र प्रयोग गर्ने जुनसुकै देशका जहाजहरूमाथि पनि यो नाकाबन्दी निष्पक्ष र कडा रूपमा लागू हुने अमेरिकी सेनाले स्पष्ट पारेको छ ।
इरानमाथि कडा नाकाबन्दी लगाए पनि अन्य देशको व्यापारलाई भने नरोक्ने अमेरिकाले जनाएको छ । सेन्टकमले स्पष्ट पार्दै भनेको छ, “यस नाकाबन्दीले हर्मुज जलडमरूमध्य (स्ट्रेट अफ हर्मुज) हुँदै गैर–इरानी बन्दरगाहहरूमा जाने वा त्यहाँबाट फर्किने अन्य जहाजहरूको स्वतन्त्र आवागमन (नेभिगेसन) मा भने कुनै बाधा पुर्याउने छैन ।”
यसअघि आइतबार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत कडा अभिव्यक्ति दिनुभएको थियो । उहाँले लेख्नुभएको थियो, “अमेरिकाले चाँडै नै हर्मुज जलमार्गबाट गुज्रने (इरान लक्षित) जहाजहरूलाई रोक्न सुरु गर्नुपर्छ ।” राष्ट्रपतिको सोही भनाइ सार्वजनिक भएलगत्तै सेनाले नाकाबन्दीको औपचारिक कार्यान्वयन सुरु गरेको हो ।
अमेरिकाको यस पछिल्लो कदमलाई भूराजनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ । यस घटनाक्रमसँगै वासिङ्टनले मध्यपूर्वमा इरान र विश्वव्यापी व्यापारमा चीन दुवैप्रति आफ्नो कूटनीतिक र सैन्य अडान थप कडा बनाएको अन्तर्राष्ट्रिय मामिलाका विश्लेषकहरूले बताएका छन् ।