भृकुटीमण्डपमा वर्षौंसम्म भाडा नतिर्ने २० वटा सटरमा समाज कल्याण परिषद्को ताला, रिपोर्टर्स क्लब पनि बन्द
काठमाडौं, ३० चैत्र । समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसरमा वर्षौंसम्म भाडा नतिरी सञ्चालनमा रहेका २० वटा सटर (सटल) मा बिहीबार तालाबन्दी गरेको छ । लामो समयसम्म ताकेता गर्दा पनि बक्यौता नबुझाएपछि परिषद्ले सुरक्षाकर्मीको सहयोगमा कडा कदम चालेको हो ।
भृकुटीमण्डपभित्र परिषद्को स्वामित्वमा रहेका ५६ वटा सटरले लामो समयदेखि भाडा नतिरेको तथ्याङ्क छ । त्यसमध्ये पहिलो चरणमा अटेर गर्ने २० वटा सटरमा परिषद्का कर्मचारी र सुरक्षाकर्मीको टोली पुगेर तालाबन्दी गरेको हो ।
तालाबन्दी गरिएका सटरहरूमा व्यापारीका पसलहरूसहित विभिन्न सङ्घसंस्थाका कार्यालयहरू रहेका छन् । जसमा लामो समयदेखि भाडा नबुझाएको चर्चित मिडिया मञ्च ‘रिपोर्टर्स क्लब नेपाल’ को कार्यालयमा समेत परिषद्ले ताला लगाएको छ ।
समाज कल्याण परिषद्ले बाँकी रहेका अन्य बक्यौतावाल सटरहरूलाई पनि तत्काल भाडा चुक्ता गर्न चेतावनी दिएको छ । तोकिएको समयमा भाडा नबुझाए ती सटरहरूमा समेत तालाबन्दी गरी कानुनी कारबाही अघि बढाउने परिषद्को तयारी छ ।