नेपाली चलचित्रको सुखद २०८२: ‘पराण’ सर्वाधिक कमाउने फिल्म, स्टारडमभन्दा कन्टेन्ट हाबी
काठमाडौँ, १ वैशाख । नेपाली चलचित्र क्षेत्रका लागि बितेको वर्ष २०८२ व्यावसायिक र रचनात्मक दुवै हिसाबले सुखद देखिएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष प्रदर्शनमा आएका ५७ स्वदेशी चलचित्रमध्ये धेरैले घरेलु बजारमा दर्शकको उत्साहजनक साथ पाएका छन्।
बोर्डको ‘सिनेपा २ बक्स अफिस’ प्रणालीका अनुसार गत वर्ष दीपकप्रसाद आचार्य निर्देशित चलचित्र ‘पराण’ सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो। कात्तिक १४ गते प्रदर्शनमा आएको यस चलचित्रले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँको व्यापार गर्दै नयाँ रेकर्ड कायम गरेको छ। पारिवारिक कथावस्तुका कारण यसले ६ लाख ३० हजारभन्दा बढी दर्शकलाई हलसम्म तान्न सफल भयो।
वर्षका उत्कृष्ट १० कमाउने चलचित्रहरू:
१. पराण: १७ करोड ७६ लाख ८४ हजार ४१०
२. आ बाट आमा: १३ करोड १३ लाख ७८ हजार ५२०
३. जेरी अन टप: १२ करोड २८ लाख ८४ हजार
४. उनको स्वीटर: ११ करोड ४१ लाख ९२ हजार १९५
५. जारी २: ६ करोड २४ लाख १७ हजार ४५३
६. बलिदान: ५ करोड १० लाख ५१ हजार १७२
७. मोहर: ५ करोड ८ लाख ९५ हजार ५१२
८. हरिबहादुरको जुत्ता: ४ करोड ७१ लाख ३८ हजार ६८७
९. माग्ने राजा: ४ करोड ६९ लाख ४३ हजार ६५१
१०. माइतीघर: ४ करोड १६ लाख ३१ हजार ८६३
यस वर्षको सबैभन्दा न्यून कमाइ गर्ने चलचित्रमा भने ‘इन्दिरा धिमे मैचा’ रह्यो, जसको खातामा मात्र ११ हजार ७०० रुपैयाँ जम्मा भयो।
वर्ष २०८२ लाई नेपाली चलचित्रमा कलाकारको अनुहारभन्दा पनि कथावस्तु (कन्टेन्ट) चलेको वर्षका रूपमा हेरिएको छ। वितरक करण श्रेष्ठका अनुसार दर्शकले स्टार भनिएका कलाकारका तुलनामा भूमिकालाई जीवन्त बनाउन सक्ने कलाकारलाई बढी रुचाएका छन्।
अनमोल केसी र पल शाहजस्ता स्टारहरूको आकर्षण कायमै रहँदा विपिन कार्की, मिरुना मगर, दयाहाङ राई र महेश त्रिपाठीजस्ता कलाकारको अभिनयले पनि चलचित्रलाई व्यावसायिक रूपमा सफल बनाउन महत्वपूर्ण भूमिका खेल्यो। निर्देशक मिलन चाम्सका अनुसार कथामा दर्शकको बढ्दो रुचि नयाँ चलचित्रकर्मीका लागि ठूलो प्रेरणा हो।
वर्षको उत्तरार्ध (फागुन र चैत) मा भने निर्वाचनको माहोल र राजनीतिक आन्दोलनका कारण चलचित्रको व्यापार केही सुस्त देखिएको छ। यद्यपि, झन्डै नौ वर्षको विश्रामपछि वरिष्ठ निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’मार्फत गरेको पुनरागमनलाई यस वर्षको सुखद पक्ष मानिएको छ। निर्देशक घिमिरेले अहिले नेपाली चलचित्रका लागि अन्तर्राष्ट्रिय बजार समेत लगानी सुरक्षित गर्ने बलियो आधार बनेको बताउनुभयो।
दसैँ र तिहारको व्यापारले उद्योगलाई ठूलो राहत दिएको र विदेशी बजारमा समेत नेपाली चलचित्रको पहुँच बढेकाले आगामी वर्ष २०८३ अझ बढी उत्साहजनक हुने अपेक्षा चलचित्रकर्मीहरूले गरेका छन्।