मुलुकको आर्थिक तस्विर उतार्न आजदेखि देशभर ‘दोस्रो राष्ट्रिय आर्थिक गणना’ सुरु

काठमाडौँ, २ वैशाख । नेपालको समग्र आर्थिक तथा औद्योगिक क्षेत्रको वास्तविक अवस्था पहिचान गर्ने उद्देश्यले आज (मङ्गलबार) देखि देशभर ‘दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२’ सुरु भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले यस ऐतिहासिक कार्यका लागि देशभर गणक र सुपरीवेक्षकहरूलाई कार्यक्षेत्रमा परिचालन गरिसकेको छ ।

कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको यो कार्य आगामी असारको पहिलो सातासम्म निरन्तर चल्नेछ । गणना कार्यलाई व्यवस्थित बनाउन देशभर करिब पाँच हजार तालिमप्राप्त जनशक्ति खटाइएको कार्यालयले जनाएको छ ।

१८ आर्थिक क्षेत्रको विस्तृत विवरण सङ्कलन गरिने
यस गणनाका क्रममा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, सार्वजनिक संस्था तथा निजी प्रतिष्ठानहरूको विस्तृत विवरण सङ्कलन गरिनेछ । विशेषगरी १८ वटा प्रमुख आर्थिक विधाअन्तर्गत रहेका प्रतिष्ठानहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारीको अवस्था, उत्पादन क्षमता र सेवा प्रवाहको विवरणलाई तथ्याङ्कमा समेटिनेछ ।

गणनामा दर्ता भएका मात्र नभई दर्ता विना सञ्चालनमा रहेका साना–ठूला व्यापारिक प्रतिष्ठान, स्वरोजगार व्यवसाय, कलकारखाना, सरकारी तथा निजी विद्यालय र अस्पतालहरू समेत समेटिने छन् ।

अर्थ मन्त्रालयले यो गणना मुलुकको भावी आर्थिक नीति र योजना निर्माणका लागि मेरुदण्ड हुने उल्लेख गर्दै सही तथ्याङ्क उपलब्ध गराएर सहयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायी र सरोकारवालाहरूमा अपिल गरेको छ ।
तथ्याङ्क सङ्कलनका लागि ७७ जिल्ला र थप सात गरी कूल ८४ वटा कार्यालयहरू चैतदेखि नै सञ्चालनमा आइसकेका छन् । यी कार्यालयहरू आगामी असार मसान्तसम्म सक्रिय रहनेछन् ।

यसअघि वि.सं. २०७५ मा पहिलोपटक राष्ट्रिय आर्थिक गणना गरिएको थियो । उक्त गणनाको नतिजाअनुसार नेपालभर नौ लाख २३ हजार ३५६ वटा आर्थिक प्रतिष्ठान र व्यवसाय सञ्चालनमा रहेको पाइएको थियो । सात वर्षपछि हुन लागेको यो दोस्रो गणनाले कोभिड–१९ र पछिल्लो आर्थिक परिस्थिति पश्चात नेपालको अर्थतन्त्रमा आएको परिवर्तनको यथार्थ चित्र सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।