चीन–रुस सम्बन्ध ‘विशेष रूपमा बहुमूल्य’ : राष्ट्रपति सी जिनपिङ
एजेन्सी, २ बैशाख । विश्वव्यापी अस्थिरता र द्वन्द्वले अन्तर्राष्ट्रिय परिदृश्य थप जटिल बनिरहेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र रुसबीचको सम्बन्धलाई ‘विशेष रूपमा बहुमूल्य’ भन्दै यसको रणनीतिक महत्त्व अझ बढेको बताउनुभएको छ ।
विशेषगरी मध्यपूर्व र युक्रेनमा जारी तनावले सिर्जना गरेको अनिश्चितताबीच बेइजिङ र मस्कोको स्थिर सहकार्यलाई उहाँले महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्नुभएको हो ।
मङ्गलबार बेइजिङमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भएको उच्चस्तरीय भेटवार्तामा राष्ट्रपति सीले चीन–रुस मैत्री सन्धिको जीवन्तता वर्तमान अन्तर्राष्ट्रिय अवस्थाले थप स्पष्ट पारेको बताउनुभयो । “परिवर्तन, तनाव र अराजकताले भरिएको विश्व परिवेशमा हाम्रा दुई देशबीचको स्थिरता, पारस्परिक विश्वास र सहकार्य अत्यन्तै आवश्यक छ,” सीले भन्नुभयो ।
राष्ट्रपति सीले रणनीतिक सञ्चारलाई अझ मजबुत बनाउन र कूटनीतिक समन्वयलाई सुदृढ पार्न दुवै पक्षलाई आह्वान गर्नुभयो । आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएका सहमतिहरूलाई दुवै देशका विदेश मन्त्रालयले पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
साथै, बेइजिङ र मस्कोबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ उचाइमा पुर्याउँदै स्थिर र सुदृढ ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता सीले औँल्याउनुभयो ।
इरान तथा मध्यपूर्वमा जारी युद्ध कति लामो समयसम्म चल्नेछ भन्ने अन्योल कायम रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फक्स बिजनेस नेटवर्क’ सँगको अन्तर्वार्तामा युद्ध ‘समाप्तिको नजिक’ पुगेको दाबी गर्नुभएको छ । ट्रम्पले बारम्बार यस्तो दाबी गरे पनि युद्धको स्थलगत वास्तविकता भने अझै जटिल रहेको विश्लेषकहरूले बताएका छन् ।
विशेषगरी सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि चीन र रुसबीचको सम्बन्ध उल्लेखनीय रूपमा गहिरिएको छ । युक्रेन युद्धका विषयमा अमेरिका र पश्चिमा राष्ट्रहरूको दबाबका बाबजुद चीन र रुसबीचको आधारभूत साझेदारीमा कुनै परिवर्तन आएको छैन ।
गत सेप्टेम्बरमा रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा आउँदा सीले उहाँलाई ‘पुरानो मित्र’ भन्दै स्वागत गर्नुभएको थियो भने पुटिनले पनि सीलाई ‘प्रिय मित्र’ भनेर सम्बोधन गर्नुभएको थियो । यसले दुई नेता र देशबीचको व्यक्तिगत तथा राजनीतिक निकटता प्रस्ट्याउँछ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा रुसी विदेशमन्त्री लाभरोभ दुई दिने औपचारिक भ्रमणका लागि मङ्गलबार बेइजिङ आइपुग्नुभएको हो । यस भ्रमणलाई दुई देशबीचको कूटनीतिक र रणनीतिक समन्वय थप मजबुत बनाउने महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।
