अमेरिका–इरान शान्ति वार्ता : पाकिस्तानको मध्यस्थतामा दोस्रो चरणको छलफल, सम्झौताप्रति वासिङ्टन आशावादी
एजेन्सी, ३ बैशाख । इरानसँगको शान्ति वार्ताको दोस्रो चरण अघि बढाउन पाकिस्तानले कूटनीतिक प्रयास तीव्र पारिरहेका बेला संयुक्त राज्य अमेरिकाले सम्झौतामा पुग्ने सम्भावनाप्रति आशावादी रहेको जनाएको छ ।
पाकिस्तानको राजधानी इस्लामावादमा सम्भावित नयाँ वार्ताबारे छलफल जारी रहेको पुष्टि गर्दै ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भन्नुभयो, “छलफलहरू सकारात्मक दिशामा अघि बढिरहेका छन् र हामी सम्झौताको सम्भावनाबारे सकारात्मक महसुस गरिरहेका छौँ ।”
पाकिस्तानको सक्रिय मध्यस्थता र साउदी युवराज मोहम्मद बिन सलमानसँग पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफको हालैको भेटपछि यो कूटनीतिक आशावाद बढेको हो । यसैबीच, पाकिस्तानी सेना प्रमुख असीम मुनीरको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले तेहरान पुगेर इरानी विदेशमन्त्री अब्बास अराघचीसँग छलफल गरेको छ ।
पहिलो चरणको वार्तामा संलग्न अमेरिकी उपराष्ट्रपति जेडी भान्सका अनुसार इरानलाई एउटा ‘ग्रान्ड डिल’ प्रस्ताव गरिएको छ । जसको उद्देश्य अमेरिका–इजरायल–इरानबीच जारी ६ हप्ते द्वन्द्व अन्त्य गर्नु र इरानको आणविक कार्यक्रमसम्बन्धी दशकौँ पुरानो विवाद सुल्झाउनु हो ।
वासिङ्टनले इरानको युरेनियम संवर्द्धन कार्यक्रम २० वर्षसम्म निलम्बन गर्न माग गरेको छ भने तेहरानले ५ वर्षका लागि मात्र रोक्ने प्रस्ताव अघि सारेको छ । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै युरेनियम संवर्द्धनको अधिकार ‘निर्विवाद’ रहेको तर त्यसको स्तर वार्ताबाट तय गर्न सकिने अडान राखेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कुनै पनि सम्झौताले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट स्थायी रूपमा रोक्नुपर्ने सर्त अघि सार्नुभएको छ । त्यस्तै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक संवर्द्धन क्षमता अन्त्य गर्नु र अवरुद्ध ‘होर्मुज जलडमरूमध्य’ पुनः खुलाउनु नै अमेरिका र इजरायलको साझा लक्ष्य रहेको बताउनुभएको छ ।
एकातिर कूटनीतिक प्रयास जारी छ भने अर्कोतिर सैन्य तनाव पनि उत्तिकै छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमाथिको नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहेको दाबी गरेको छ । सुरुवाती ४८ घण्टाभित्र इरानी बन्दरगाहबाट बाहिरिन खोजेका १० वटा जहाजलाई फर्काइएको सेन्टकमले जनाएको छ ।
यसको जवाफमा इरानका सैन्य कमान्डर अली अब्दुल्लाहीले अमेरिकी नाकाबन्दी नहटाइए क्षेत्रीय व्यापार नै ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार मोहसेन रेजाईले अमेरिकी जहाजहरू होर्मुज जलमार्गमा प्रवेश गरे आक्रमण गर्ने धम्कीसमेत दिनुभएको छ ।
शान्ति वार्ताको सकारात्मक सङ्केतसँगै विश्व बजारमा केही सुधार देखिएको छ । वाल स्ट्रिटमा सेयर बजार उकालो लागेको छ भने कच्चा तेलको मूल्यमा गिरावट आएको छ ।
यद्यपि, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएवाले यदि यो युद्ध लम्बिएमा र तेलको मूल्य उच्च रहेमा विश्वव्यापी महँगी बढ्ने र खाद्य सङ्कट निम्तिएर विश्व अर्थतन्त्र गम्भीर दबाबमा पर्ने चेतावनी दिनुभएको छ ।
यसै कूटनीतिक पहलबीच इजरायल र लेबनान (हिज्बुल्लाह) बीच पनि प्रत्यक्ष वार्ताको सङ्केत देखिएको छ । यद्यपि, लेबनानी पक्षले औपचारिक वार्ताबारे कुनै जानकारी नभएको बताएको छ ।