काठमाडौं उपत्यकामा २४ घण्टाभित्र साढे ३ हजार सवारी चालक कारबाहीमा, २५ लाख राजस्व सङ्कलन
काठमाडौं, ८ बैशाख । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथिको कारबाहीलाई ट्राफिक प्रहरीले तीव्रता दिएको छ । पछिल्लो २४ घण्टाको अवधिमा मात्र उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ५ सय १ जना सवारी चालकलाई कारबाही गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार, शनिबार बिहानसम्मको तथ्याङ्कअनुसार नियम मिच्नेहरूबाट जम्मा २५ लाख १५ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
एसपी सुवेदीका अनुसार, सबैभन्दा बढी लेन अनुशासन मिच्ने र रातो बत्तीको बेवास्ता गर्ने चालकहरू कारबाहीमा परेका छन् । २४ घण्टाको अवधिमा गरिएको कारबाहीको विवरण यसप्रकार छ :
मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने : ७७ जना
रातो बत्तीको उल्लङ्घन गर्ने : १५८ जना
लेन अनुशासन नमान्ने : १७२ जना
तीव्र गतिमा सवारी चलाउने : ८९ जना
सवारीसाधनको अवस्था ठीक नभएका : ६९ जना
सवारीको ढोका खुल्ला राखेर गुडाउने : ५७ जना
हर्न निषेधित क्षेत्रमा हर्न बजाउने (नो हर्न) : ७७ जना
जथाभावी यात्रु चढाउने र ओराल्ने :५५ जना
अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने : २,७४७ जना
ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्न र सडक अनुशासन कायम राख्न नियम उल्लङ्घन गर्ने चालकमाथि कडा निगरानी तथा कारबाही अभियानलाई निरन्तरता दिने जनाएको छ ।