युद्धविरामका बावजुद पनि लेबनानमा इजरायली आक्रमण जारी

एजेन्सी, ९ बैशाख । युद्धविरामको घोषणा भए तापनि दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमण अझै रोकिएको छैन। पछिल्लो समय खियाम, मेस अल–जबल र बेइट लाइफ लगायतका सहरहरूलाई लक्षित गरी आक्रमण भइरहेको छ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार, इजरायली सेनाले खियाम सहरको अल–जल्लाहिया क्षेत्रमा शक्तिशाली विस्फोट गराएको छ। त्यस्तै, बेइट लाइफ सहरमा भएको आक्रमणबाट थुप्रै आवासीय घरहरू पूर्ण रूपमा नष्ट भएका छन्।

लेबनानको विपद् जोखिम व्यवस्थापन विभागले दिएको जानकारीअनुसार इजरायली आक्रमणका कारण हालसम्म २ हजार ४ सय ५४ जनाको ज्यान गइसकेको छ भने ७ हजार ६ सय ५८ जना घाइते भएका छन्। त्यसैगरी, आक्रमणबाट प्रभावित ३० हजार ८ सय १५ परिवारका १ लाख १८ हजार ६ सय २४ जना मानिस विस्थापित भई विभिन्न आश्रयस्थलमा शरण लिन बाध्य भएका छन्।