कार्यवाहक प्रमुख डङ्गोलकाे निर्देशनपछि धादिङ, नुवाकोट र रसुवा चल्ने बस नयाँ बसपार्कबाट मात्रै छुट्ने
काठमाडौँ, ११ वैशाख । धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन आजदेखि गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन हुन थालेका छन्। यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर यात्रु चढाउने र ओराल्ने गर्दै आएका बसहरू अब अनिवार्य रूपमा बसपार्कबाटै छुट्न थालेका हुन्।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा गत मङ्गलबार बसेको सरोकारवाला निकायको बैठकले उपत्यकाका सबै सार्वजनिक यातायातलाई नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेको थियो। उक्त बैठकले दिएको तीन दिनको समयसीमा सकिएसँगै आज बिहानैदेखि ती तीन जिल्लामा चल्ने बसहरू बसपार्कभित्र सारिएका हुन्।
महानगरपालिकाले काठमाडौँ भित्रिने र बाहिरिने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित गर्न २०५६ सालमै १६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो। तर, अधिकांश जिल्लामा जाने सवारीसाधन बसपार्कभित्रबाटै चले पनि धादिङ, नुवाकोट र रसुवा चल्ने बसका चालकहरूले अटेर गर्दै माछापोखरी क्षेत्रमा काउन्टर र पार्किङ राखेर सञ्चालन गर्दै आएका थिए।
यसअघि गोँगबु चोकदेखि नयाँ बसपार्क बीचको सडकबाट सञ्चालन हुँदै आएका पृथ्वी राजमार्गका बस तथा माइक्रोबसहरू भने केही समयअघि नै बसपार्कभित्र सारिसकिएको छ।
सडकमा जथाभावी पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या हुँदै आएको थियो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले लामो दूरीका सवारीसाधनले सडकमै पार्किङ गर्दा र यात्रु चढाउँदा असहज भएको बताए। महानगरको यो निर्णय कार्यान्वयनसँगै चक्रपथ वरपर हुने ट्राफिक जाम उल्लेख्य रूपमा कम हुने उनको भनाइ छ।
नयाँ बसपार्कको व्यवस्थापन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले नुवाकोट, रसुवा र धादिङ चल्ने सार्वजनिक सवारीसाधनका लागि बसपार्कभित्र छुट्टै ‘ट्र्याक’ र टिकट काउन्टरको व्यवस्था मिलाइएको जानकारी दिए।
यातायात व्यवस्था कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा झन्डै २० लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन्। सडक विस्तार नहुने तर सवारीसाधनको सङ्ख्या बढ्दै जाँदा उपत्यकाको ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ।