पहिरो पन्छाएपछि कान्ति लोकपथ सञ्चालन

मकवानपुर, २१ वैशाख । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको मार्ग कान्ति लोकपथअन्तर्गत भीमफेदी गाउँपालिका–८, भरेङडाँडामा खसेको पहिरो पन्छाएपछि यातायात पुनः सञ्चालनमा आएको छ।

गएराति खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिरो हटाएपछि आज (शुक्रबार) अपराह्नदेखि दुवैतर्फको यातायात सेवा सुचारु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले मकवानपुर हुँदै काठमाडौँ जाने अन्य सडकहरू– त्रिभुवन राजपथ, पूर्व–पश्चिम महेन्द्र राजमार्ग र भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा पनि हाल सबै प्रकारका सवारीसाधन नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए।

यसैगरी, हेटौँडाबाट वीरगञ्जतर्फ, चितवनको नारायणगढतर्फ र भीमफेदीबाट हेटौँडातर्फको यातायात सेवा पनि सुचारु अवस्थामा रहेको प्रहरीले जनाएको छ।