उपत्यकाका मसाज सेन्टरमा प्रहरीको छापा : ठमेल, बौद्ध र ललितपुरसहित विभिन्न ठाउँबाट २५८ जना पक्राउ

काठमाडौँ, २० वैशाख । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालित मसाज सेन्टरहरूमा प्रहरीले छापा मारेको छ । काठमाडौँको ठमेल, बौद्ध र ललितपुरका विभिन्न मसाज सेन्टरहरूबाट प्रहरीले ठूलो सङ्ख्यामा महिला तथा पुरुषहरूलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार गरेको विशेष ‘अप्रेशन’का क्रममा कुल २५८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४० जना महिला र १८ जना पुरुष रहेका छन् । मसाज सेन्टरका नाममा अनैतिक क्रियाकलाप भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले यी स्थानहरूमा छापा मारेको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर केसीले नियन्त्रणमा लिइएकाहरूमाथि विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “हामीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएका हौँ,” प्रवक्ता केसीले भन्नुभयो, “पक्राउ परेकामध्ये कसलाई मुद्दा चलाउने र कसलाई छोड्ने भन्नेबारे उनीहरूको संलग्नता हेरेर आवश्यक छानबिन गरिरहेका छौँ ।”

प्रहरीले विशेषगरी ठमेल र बौद्ध जस्ता पर्यटकीय क्षेत्रका मसाज सेन्टरहरूलाई लक्षित गरी यो कारबाही अगाडि बढाएको थियो । पछिल्लो समय मसाज सेन्टर र स्पाका नाममा अवैध गतिविधि हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको हो ।