भाजपा नेता शुभेन्दु अधिकारीका पिएको गोली हानी हत्या, पश्चिम बङ्गालमा चुनावपछि हिंसा भड्कियाे

एजेन्सी, २४ बैशाख । भारतको पश्चिम बङ्गालमा विधानसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै राजनीतिक हिंसा भड्किएको छ। यसै क्रममा राज्यमा सरकार बनाउने तयारीमा रहेको भारतीय जनता पार्टी (भाजपा) का एक प्रभावशाली नेताका निकट सहयोगीको गोली हानी हत्या भएको छ।

बुधबार राति कोलकातामा ४१ वर्षीय चन्द्रनाथ रथमाथि अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन्। रथ पश्चिम बङ्गाल भाजपाका प्रमुख नेता तथा सम्भावित मुख्यमन्त्री सुभेन्दु अधिकारीका निकट सहयोगी हुन्। यस घटनाले राज्यको राजनीतिक माहोललाई थप तनावग्रस्त बनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान र प्रत्यक्षदर्शीका अनुसार, बुधबार राति करिब ११ बजे रथ सवार कारलाई मोटरसाइकलमा आएका आक्रमणकारीले रोकेका थिए। त्यसलगत्तै उनीहरूले रथमाथि नजिकैबाट करिब एक दर्जन गोली चलाएका थिए। उनको छाती र मुटुको भागमा अधिकांश गोली लागेको थियो।

राज्यका प्रहरी प्रमुख सिद्धनाथ गुप्ताले घटनाको पुष्टि गर्दै आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकल नियन्त्रणमा लिइएको जानकारी दिनुभयो। उक्त मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको पाइएको छ। प्रहरीले आक्रमणकारीको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।

गम्भीर घाइते अवस्थामा रथलाई तत्कालै स्थानीय अपोलो अस्पताल पुर्‍याइएको थियो। तर, अस्पतालका चिकित्सक प्रीतम सेनगुप्ताले उनलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको भन्दै मृत घोषणा गर्नुभएको थियो।

यस हत्याकाण्डपछि पश्चिम बङ्गालमा राजनीतिक प्रतिशोधको बहस चर्किएको छ। राज्य विधानसभामा विपक्षी दलका नेता सुभेन्दु अधिकारीले यस घटनालाई ‘ठण्डा दिमागले गरिएको योजनाबद्ध हत्या’ को संज्ञा दिँदै दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको छ।

त्यसैगरी, पश्चिम बङ्गाल भाजपाका अध्यक्ष समिक भट्टाचार्यले यो ‘पूर्वनियोजित हत्या’ भएको दाबी गर्दै निवर्तमान सत्तारूढ दल तृणमूल काङ्ग्रेस (टीएमसी) का कार्यकर्ताले हमला गराएको आरोप लगाउनुभयो।

यता, टीएमसीले भने एक विज्ञप्ति जारी गर्दै हत्याको निन्दा गरेको छ र घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। उल्टै, भाजपा समर्थित समूहबाट आफ्ना कार्यकर्तामाथि पनि निरन्तर आक्रमण भइरहेको टीएमसीको दाबी छ।

हालै सम्पन्न पश्चिम बङ्गाल विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपाले ऐतिहासिक सफलता प्राप्त गरेको छ। २९४ सदस्यीय विधानसभामध्ये भाजपा एक्लैले २०७ सिट जितेर पहिलो पटक स्पष्ट बहुमतसहित सरकार गठन गर्दैछ।

सन् २०११ देखि राज्यको सत्तामा रहेकी टीएमसी नेत्री तथा मुख्यमन्त्री ममता बनर्जी यसपटक आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनुभएको छ। बनर्जीले चुनावमा धाँधली भएको भन्दै परिणामलाई अस्वीकार गर्दै आउनुभएको छ।

चुनावी परिणाम आएयता राज्यभर राजनीतिक झडपका घटना बढेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार चुनावपछिको हिंसामा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा पाँच पुगिसकेको छ।

यस्तो तनावपूर्ण अवस्थाका बीच भाजपाले आगामी शनिबार संसदीय दलको बैठक राखेर नयाँ सरकार गठन र मुख्यमन्त्रीको शपथ ग्रहण गराउने तयारी गरिरहेको छ।