यो वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने, देशभर अत्यधिक गर्मी बढ्ने मौसम विभागको प्रक्षेपण
काठमाडौँ, २५ वैशाख । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भू–भागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन आँकलन सार्वजनिक गर्दै यस वर्ष कम पानी पर्ने र देशभर अत्यधिक गर्मी बढ्ने अनुमान गरेको हो ।
महाशाखाका अनुसार यो वर्ष देशैभर अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना छ । वर्षा कम हुने र तापक्रम बढ्ने भएकाले यस वर्ष विगतका वर्षहरूको तुलनामा धेरै गर्मी महसुस हुने मौसमविद्हरूको भनाइ छ ।
कुन प्रदेशमा कस्तो छ वर्षाको सम्भावना ?
महाशाखाले भौगोलिक क्षेत्रअनुसार वर्षाको सम्भावनालाई यसरी वर्गीकरण गरेको छः
सरदर (सामान्य) वर्षा हुने: कर्णाली प्रदेश र कोशी प्रदेशका उत्तरी भू–भागमा मात्र विगतका वर्षहरूमा जस्तै सरदर वर्षा हुने सम्भावना छ ।
सरदरभन्दा कम वर्षा हुने (५५ देखि ६५ प्रतिशत सम्भावना): कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशको पूर्वी क्षेत्र र कोशी प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम पानी पर्ने उच्च सम्भावना रहेको छ ।
सरदरभन्दा कम वर्षा हुने (४५ देखि ५५ प्रतिशत सम्भावना): सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशको पश्चिमी क्षेत्र र कोशी प्रदेशका मध्य भू–भागमा पनि सरदरभन्दा कम वर्षा हुने महाशाखाले जनाएको छ ।
समग्रमा यस वर्षको मनसुनमा कृषकहरूले सिँचाइमा चुनौती सामना गर्नुपर्ने र सर्वसाधारणले अत्यधिक गर्मीको सास्ती खेप्नुपर्ने देखिएको छ ।