जङ्गली च्याउ सेवन गर्दा झापामा एकै परिवारका ११ जना बिरामी
काठमाडौँ, वैशाख २७ । झापाको बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीमा जङ्गली च्याउ सेवन गर्दा एकै परिवारका ११ जना बिरामी परेका छन् । बिहीबार बिहानको खानामा जङ्गली च्याउको परिकार समावेश गरी सेवन गरेका तेजबहादुर खवासको परिवारका सदस्यहरूमा स्वास्थ्य समस्या देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार च्याउ खाएको केही समयपछि नै उनीहरूमा फुड पोइजनिङको लक्षण देखिएको थियो । बिरामी हुनेहरूमा ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवास र आठ जना बालबालिका रहेका छन् ।
बिरामीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि बालबालिकासहित नौ जनालाई दमकस्थित बाल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । सूचना अधिकारी खड्काका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य र खतरामुक्त रहेको छ ।
जङ्गली च्याउ सेवनका कारण बर्सेनि हुने यस्ता दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले पहिचान नभएका र विषाक्त हुन सक्ने जङ्गली च्याउ नखान सर्वसाधारणमा विशेष आग्रह गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।