सडकआश्रित मानवको उद्धार गर्न मेची पुलबाट सुरु भयो ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’

झापा, २९ वैशाख । सडकपेटीमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवहरूको उद्धार गर्ने पवित्र उद्देश्यका साथ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु भएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त पहलमा पूर्वी नाका काँकरभिट्टास्थित मेची पुलबाट यो अभियानको शुभारम्भ गरिएको हो ।

सोमबार साँझ मेची पुलमा दीप प्रज्वलन गरी सुरु भएको यस देशव्यापी उद्धार यात्रा आगामी जेठ २२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

शुभारम्भ समारोहमा आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवं चर्चित गायिका आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै गायिका डोल्माले मानवताको सेवा नै जीवनको सर्वोत्तम धर्म भएको बताइन् । उनले सडकमा अलपत्र परेका मानिसहरूको उद्धार अभियानमा सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान समेत गरिन् ।

आश्रम र फाउन्डेसनको सहकार्यमा यो अभियान तेस्रोपटक सञ्चालन हुन लागेको हो । डोल्माकै नेतृत्वमा खटिएका २६ जना स्वयंसेवकको टोलीले मेचीदेखि महाकालीसम्मको यात्राका क्रममा सडकमा रहेका बेसहारा मानवहरूको उद्धार गरी विभिन्न जिल्लास्थित आश्रमहरूमा व्यवस्थापन गर्नेछ ।

मानव सेवा आश्रमले विगत १३ वर्षदेखि सडकमा आश्रित असहाय नागरिकको उद्धार, उपचार र पारिवारिक पुनर्मिलनको काम गर्दै आएको संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

हाल सातवटै प्रदेशका १९ जिल्लामा आश्रमका २३ वटा शाखाहरू सञ्चालनमा छन् । संस्थाले देशका ७७ वटै जिल्लाबाट आफन्त गुमाएका र बेसहारा बनेका नागरिकको उद्धार गरी मानवोचित ढङ्गले पालनपोषण र व्यवस्थापन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *