हुम्लाको नेप्कामा बाढीपहिरोको वितण्डा: विद्यालय र गोठ बगायो, पशुचौपाया र खेतीयोग्य जमिन पुरियाे

हुम्ला, ६ जेठ । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको भीषण बाढीपहिरोले ठूलो भौतिक क्षति पुर्‍याएको छ। असिना–पानीसहित आएको बाढीले स्थानीय विद्यालय, गोठ र खेतीयोग्य जमिन बगाएको छ।

स्थानीयका अनुसार बाढीले डाँफे आधारभूत विद्यालयको भवन पूर्ण रूपमा बगाएको छ। यस्तै, वडाध्यक्ष हर्कधन तामाङ र स्थानीय धनसिंह तामाङका गोठहरू पहिरोले पुरेको छ। गोठ पुरिँदा त्यहाँ रहेका भेँडाबाख्राहरू समेत मरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
वडाध्यक्ष हर्कधन तामाङले मानवीय क्षति नभए पनि पशुचौपाया र अन्नबालीमा अपूरणीय क्षति पुगेको बताउनुभयो। “म गाउँपालिकाको केन्द्रमा छु, गाउँबाट आएको सूचनाअनुसार बाढीले मेरो र धनसिंह तामाङको गोठ पुरेको छ,” उहाँले भन्नुभयो, “कोदो खेती हुने धेरै जग्गा बाढीले तहसनहस पारेको छ, केही बाँकी राखेको छैन।”

घटनाको जानकारी पाएलगत्तै मेल्छाम प्रहरी चौकीबाट प्रहरीको टोली आज बिहानै घटनास्थलतर्फ प्रस्थान गरेको छ। प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले नेप्का गाउँ अत्यन्तै दुर्गममा भएकाले क्षतिको पूर्ण विवरण आउन समय लाग्ने बताउनुभयो। “बाढीपहिरोले क्षति पुर्‍याएको सूचना पाएका छौँ, स्थानीय र प्रहरीमार्फत विस्तृत विवरण बुझ्ने काम भइरहेको छ,” उहाँले भन्नुभयो।

हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तर–पूर्वमा पर्ने नेप्का गाउँ सडक सञ्जालसँग जोडिएको छैन। गाउँपालिकाको केन्द्रसम्म पुग्नै जोखिमपूर्ण बाटोमा ५ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। विकट भौगोलिक अवस्था र सञ्चारको असुविधाका कारण तत्काल राहत र उद्धारमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन्। रातिको समयमा आएको बाढीका कारण स्थानीयहरू त्रसित बनेका छन्।