गणतन्त्र शासन प्रणाली मात्र होइन, चेतनाको रूपान्तरण हो : अध्यक्ष ओली
काठमाडौँ, १५ जेठ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली समाजको चेतनामा आएको एक गहिरो रूपान्तरण भएको बताउनुभएको छ ।
१८ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नेपाली समाजलाई ‘प्रजा’ बाट ‘सार्वभौम नागरिक’ मा रूपान्तरण गर्ने ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभएको हो ।
सन्देशमा अध्यक्ष ओलीले आजभन्दा १८ वर्षअघि नेपाली जनताले आफ्नै निर्वाचित संविधानसभामार्फत गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरण गर्नुभएको छ । “जनताले आफ्ना लागि आफैँले शासन प्रणाली निर्धारण गर्ने अधिकार प्राप्त गर्न सात दशकभन्दा लामो सङ्घर्ष गर्नुपर्यो,” उहाँले भन्नुभएको छ, “बोल्ने, लेख्ने र सङ्गठित हुने अधिकारका लागि हजारौँ अग्रजले दिएको बलिदान र दशकौँको जेलनेलको प्रतिफल आजको यो व्यवस्था हो ।”
अध्यक्ष ओलीले जनताको ठुलो सङ्घर्षपछि हुकुमबाट चल्ने प्रणाली फ्याँकिएर कानुन र लोकतान्त्रिक अङ्गहरूबाट सञ्चालन हुने पद्धति सुरु भएको बताउनुभयो । उहाँले छोटो समयमै गणतन्त्रले सामाजिक र भौतिक विकासमा ठुलो फड्को मारेको दाबी गर्दै गाउँ–गाउँमा पुगेको स्थानीय सरकार, समावेशी प्रतिनिधित्व, नागरिक स्वतन्त्रता र डिजिटल पहुँचलाई गणतन्त्रको मुख्य उपलब्धिको रूपमा चित्रण गर्नुभयो ।
आफ्नो सन्देशमार्फत अध्यक्ष ओलीले पछिल्लो समय देखिएका केही प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबीचको भिन्नता बुझ्न आग्रह गर्दै जनताको निराशाबाट लाभ लिन खोज्नेहरूले लोकतान्त्रिक संरचनामाथि अविश्वास रोप्न खोजेको टिप्पणी गर्नुभयो । “संस्थामाथि अविश्वास रोप्ने र भावनालाई दुरुत्साहन गरेर लोकतान्त्रिक संरचनालाई कमजोर बनाउने प्रवृत्तिबाट अधिनायकवाद हुर्किने जोखिम रहन्छ,” उहाँले सचेत गराउनुभएको छ ।
अन्त्यमा, अध्यक्ष ओलीले शान्त मनले लोकतन्त्र प्राप्तिका लागि गरिएका कठोर सङ्घर्षको स्मरण गर्न र लोकतन्त्र कमजोर भएमा भविष्य कस्तो होला भनेर चिन्तन गर्न सबै नेपालीमा आह्वान गर्दै दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।