गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको सम्बोधन: राजनीतिक अधिकार र समृद्धिको यात्रामा जोड

काठमाडौँ, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुभएको छ। सम्बोधनका क्रममा उहाँले गणतन्त्रले देशका नागरिकको राजनीतिक अधिकार सुनिश्चित गर्दै समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि बढ्ने ऐतिहासिक अवसर प्रदान गरेको बताउनुभयो।

राष्ट्रपति पौडेलले गणतन्त्र शासन प्रणाली मात्र नभएर सबै नेपालीलाई एकापसमा जोड्ने र साझा राष्ट्र निर्माणको संकल्प जगाउने सशक्त माध्यम भएको उल्लेख गर्नुभयो। “यसले देशवासीलाई जोडेको छ र साझा राष्ट्र बनाउने सङ्कल्प अभिप्रेरित गरेको छ। यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ। त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको महान् प्रेरणा हो,” उहाँले भन्नुभयो।

सैनिक मञ्चमा आयोजित उक्त विशेष समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा विशिष्ट राष्ट्रिय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समारोहमा सैनिक परेड, विभिन्न सांस्कृतिक झाँकी तथा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *