प्रधानमन्त्री बालेनको अभिव्यक्तिको विरोधमा संसद् अवरुद्ध, विपक्षीको अडान– ‘जवाफ नआएसम्म चल्न दिँदैनौँ’
काठमाडौँ, २६ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि संसद्को कामकारबाही प्रभावित भएको हो ।
सभामुख डीपी अर्यालले बैठक सुरु भएको घोषणा गर्नासाथ विपक्षी दलका सांसदहरूले उभिएर विरोध प्रदर्शन गरेका थिए । त्यसपछि सभामुखले नेकपा (एमाले) का सांसद क्षितिज थेबेलाई बोल्ने समय दिएका थिए ।
सदनमा बोल्दै सांसद थेबेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमाको विषयलाई लिएर संसद्मा दिएको पछिल्लो अभिव्यक्तिप्रति कडा आपत्ति जनाए । उनले प्रधानमन्त्रीले संसद्को गरिमामाथि प्रहार गरेको आरोप लगाउँदै उक्त विषयमा प्रधानमन्त्री स्वयंले जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिए ।
विपक्षी दलहरूले सो अभिव्यक्तिले संसद् र कानुनको उपहास गरेको भन्दै विरोध गर्दै आएका छन् । विपक्षीको निरन्तर अवरोध र नाराबाजीका कारण सभामुख अर्यालले सदनको कार्यसूची अगाडि बढाउन कठिनाइ भोग्नुपरेको छ । प्रधानमन्त्रीले नै आएर स्पष्टीकरण दिनुपर्ने विपक्षीको अडानका कारण आजको बैठक समेत अवरुद्ध भएकाे छ ।